चितुवाको आक्रमणबाट तनहुँका बालकको मृत्यु
जिल्लाको व्यास नगरपालिका–१२ छिर्कनेमा मंगलबार साँझ ६:३० तिर चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय चित्रबहादुर कुवँरका ८ वर्षीय छोरा अभिनव रहेको डिभिजन वन कार्यालय तनहुँका सहायक डिभिजन अधिकृत नारायण कोइरालाले बताए ।
हजुरआमासँगै गोठमा गाईको दूध दुहुन गएका अभिनवलाई चितुवाले आक्रमण गरी गोठबाट २ सय मिटर पर लगेको स्थानीय राजनप्रसाद पन्तले बताए । उनका अनुसार हजुरआमा दूध दुहुदै गर्दा अभिनव नजिकै खेल्दै थिए । गोठ वरीपरी खरबारी थियो ।
गत कात्तिक ४ गते बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीकी ११ वर्षीया बालिकाको पनि चितुवाको आक्रमणबाट ज्यान गएको थियो । २०७४ फागुन १ गतेयता जिल्लामा १४ जना बालबालिकाले चितुवाको आक्रमणमा परी ज्यान गुमाएका छन् ।