क्रिकेटर सन्दीपको बयान : मलाई कसैको उक्सावटमा फसाइयो
क्रिकेटर सन्दीप लामिछानेसँगको बयान सकिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीपको बयान लिइएको छ। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अभियोगपत्र दायर गरेको थियो।
अभियोगपत्र दायरपछि अदालतमा मंगलबार सन्दीपको बयान भएको हो। सन्दीपसँग बयान लिने काम सकिएकाले बुधबारबाट थुनछेक बहस हुने सन्दीप पक्षका वकिल मुरारी सापकोटाले बताए। उनले मंगलबार नेपाल प्रहरीले ढिलो गरी अदालतमा उपस्थित गराएको र बीचमा बत्ती गएका कारण बयान लिने काम ढिला सुरु भएको बताए। सन्दीपले बयानका क्रममा आफूप्रति बदनियत र कसैको उक्सावटमा अभियोग लगाएको बयान दिएको उनले बताए।
सन्दीपले आफूमाथि लागेको अभियोग झुटो रहेको प्रमाणसमेत पेस गरेको उनका वकिलले बताए। उनले पीडित किशोरीले अनुसन्धानका क्रममा दिएको विवरण र डाक्टरहरूको समूहमा स्वास्थ्य परीक्षण गराउँदा दिएको विवरण मेल नखाएको बताए।
सन्दीपका वकिल सापकोटाले भने, ‘प्रहरीले नै ढिला ल्याउने काम गर्यो, त्यसकारण नै ढिला सुरु भयो। बत्ती गएका कारण पनि केही बाधा आयो। आज बयान सकियो। थुनछेक बहस हुन पाएन, भोलिबाट थुनछेकको बहस सुरु हुन्छ। जबर्जस्ती करणीको अभियोग मप्रति बदनियतका साथ कसैको उक्सावटमा लगाइएको छ, जुन अभियोग झुटो हो भनेर बयान गर्नुभएको छ र आफ्नो इन्कारी बयानलाई पुष्टि हुने विभिन्न किसिमका प्रमाणहरू पनि पेस गर्नुभएको छ।’