दीपक मनाङे मनाङको प्रदेशसभा ‘ख’ बाट निर्विरोध निर्वाचित
मनाङको प्रदेशसभा ‘ख’ बाट स्वतन्त्र उम्मेदवार दीपक मनाङे निर्विरोध निर्वाचित हुनु भएको छ ।
अर्का स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएसँगै मनाङे निर्विरोध हुनु भएको हो । मनाङे हाल गण्डकी सरकारका युवा तथा खेलकुदमन्त्री हुनुहुन्छ ।
निर्वाचन अधिकृतले दोर्जेले उम्मेदवारी फिर्ता लिएको निस्सा प्रदान गरिसकेको छ । नेपाली कांग्रेस र नेकपा एमाले दुबैले मनाङेलाई समर्थन गर्दै उम्मेदवारी दिएका थिएनन् ।
मनाङले शुरुमा सत्ता गठबन्धनको समर्थनमा चुनाव लड्ने बताउनु भएको थियो । तर मनोनयन गर्नुअघि गठबन्धन छोडिसकेको बताएपछि एमालेले उम्मेदवारी दिएन ।
मनाङको प्रतिनिधि सभा र ‘क’ मा कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दिएका थिए। तर प्रदेश सभा ‘ख’ मा कुनै दलले उम्मेदवार अघि सार्न सकेका थिएनन् ।