जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

दुई सय वर्ष पुरानो सिलिंगे चौतारा पुनः निर्माण

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा ३३, भरतपोखरीको बरमा क्रियाशील सिलिंगे महिला चेतना समूहले २ सय वर्ष पुरानो सिलिंगे चौतारा निर्माण गरेको छ । प्राचीनकालदेखि अस्तित्वमा रहेको र करिब ३० वर्ष अघि विकास निर्माणका नाममा सिलिंगे चौतारा मासिएपछि उक्त स्थानको पहिचानलाई कायमै राख्ने गरी उक्त स्थानमा पुनः चौतारा निर्माण गरिएको हो ।

गण्डकी प्रदेश सकारको १ लाख ५० हजार सहयोगका साथै स्थानीयवासीको सहयोग समेत गरी २ लाख ३५ हजार ५ सय ७५ रुपैयाँको लागतमा चौतारा निर्माण गरिएको समूहका अध्यक्ष कर्णकुमारी महतले बताइन् । चौताराको गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले उद्घाटन गर्दै निर्माणमा सहयोग पुर्‍याउने सहयोगदातालाई सम्मान गरे । सो अवसरमा मन्त्री थापाले प्रदेश सरकारको सानो सहयोगमा जनसहभागिता जुटाएर गरिएको निर्माणकार्य प्रशंसनीय रहेको बताए ।

आगामी आर्थिक वर्षका लागि पोखरा ३३ मा गण्डकी प्रदेश सरकारका तर्फबाट विभिन्न ३४ वटा योजनाका लागि ५ करोड ६२ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी गराउँदै उनले यस क्षेत्रको समग्र विकास आफूहरूको प्राथमिकतामा रहेको बताए ।

समूहका अध्यक्ष महतले प्रदेश सरकार र स्थानीयवासीको साथ सहयोगका कारण ऐतिहासिक महत्वको सिलिंगे चौतारा निर्माण गरिएको बताए । पाप्त सहयोगलाई पारदर्शी रुपमा परिचालन गरिएको बताउँदै उनले आगामी दिनमा पनि प्रदेश सरकार एवम् स्थानीयवासीको यस किमिमका सहयोग निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरे ।

रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेलले समाजिक जागरणसँगै पर्यावरणीय संरक्षण, विकास लगायतमा समूहले देखाएको सकृयता प्रशंसनीय भएको बताए । वडा सदस्य दुर्गादेवी थापा केसीले समूहले गर्ने जुनसुकै विकास निर्माणका काममा वडाका तर्फबाट निरन्तर साथ र सहयोग हुने विश्वास व्यक्त गरे । चण्डी माविका प्रअ खिमबहादुर महतले महिला सशक्तिकरणसँगै सामाजिक विकासका काममा समूह निरन्तर सक्रिय बनेको बताउँदै प्रशंसा व्यक्त गरे ।

समूहले मनियलडाँडा–हुडिकोट सडकअन्तर्गत १ सय मिटर नाला र ७० मिटर ग्राबेल गर्ने काम गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट आव २०७८÷७९ मा विनियोजित २ लाख र जनसहभागिता ३० हजार र श्रमदान १५ हजार गरी २ लाख ४५ हजारमा उक्त योजना सम्पन्न गरेको छ । समूहकै सक्रियतामा बर माझथरमा ५० हजारको लागतमा प्रतीक्षालय निर्माण गरिएको छ ।