राहदानी विभागले सुचना- १५ दिनमै राहदानी जिल्लामै पुग्छ, काठमाडौं नधाउनुस्
राहदानी विभागले १५ दिनभित्र सम्बन्धित जिल्लामै राहदानी पुग्ने भएकाले काठमाडौं धाइराख्न नपर्ने स्पष्ट पारेको छ ।
जिल्ला प्रशासन कार्यालयबाट आवेदन भएका राहदानीहरु विभागले प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेको जनाएको छ ।
विभागले आइतबार सूचना जारी गर्दै काठमाडौं उपत्यका भित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरुले १ हप्ता भित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ दिन भित्र राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाएको जानकारी दिएको छ।
हाल दैनिकरुपमा विभागमा आवेदन दिनेको संख्या करिब २ हजार चार सय रहेको छ । विभागले हाल दैनिकरुपमा ६५०० राहदानी वितरण गर्दै आएको छ।
‘अत्यन्त जरुरी परेका सेवाग्राहीहरुले राहदानी विभागमा आवेदन गर्नुहुन र अन्य कम जरुरी हुनेले आफ्नो सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै सहज रुपमा राहदानी प्राप्त गर्न सकिने हुँदा सो सेवा लिनुहुन सेवाग्राहीमा अनुरोध छ । विभागले सेवाग्राहीहरुको सहजताको लागि प्रत्येक दिन २४०० जनाले अनलाईनबाट फाराम भर्न सक्ने र फाराम भरिसकेपछि तुरुन्त १ देखि ४ दिनभित्र विभागमा राहदानी फाराम बुझाउन सक्ने र आवेदन गरेपछि २ कार्यदिनमा राहदानी प्राप्त गर्ने व्यवस्था मिलाएको छ । सबै सेवाग्राहीहरु विहान एकैपटक आउँदा विभागमा उल्लेख्य भीड हुने भएकोले आवेदन फाराममा उल्लेख भएको मिति र समयमा मात्र विभागमा आउनहन पनि अनरोध छ,’विभागले जारी गरेको सूचनामा भनिएको छ।’
आजै राष्ट्रिय युवा संघ नेपालले राहदानी वितरणमा ढिलासुस्ती र अस्तव्यस्त भएको भन्दै सरकारलाई दबाब दिन राहदानी विभाग अगाडि प्रदर्शन गरेको छ।