जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मेयर आचार्यद्धारा पोखरा उपत्यका नगरविकास समिति अध्यक्षको पदभार ग्रहण , समितिको जमिन एकमहिनाभित्र सार्वजनिक गर्ने घोषणा

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा उपत्यका नगरविकास समिति अध्यक्षको पदभार ग्रहण गर्नुभएको छ । सहिदचोक स्थित कार्यालयमा विहीबार विहान उहाँले पदभार ग्रहण गर्नुभयो ।

पदभार ग्रहण गर्दै उहाँले पोखरा उपत्यका नगरविकास समितिको नाममा कति जमिन कस्तो अवस्थामा छ भनेर एक महिना भित्र सार्वजनिक गर्ने प्रतिवद्धता जनाउनुभयो । ‘पोखरामा पोखरा उपत्यका नगरविकास समितिसंग प्रसस्त जग्गा छ । तर, के कति छ भन्ने लेखाजोखा नै राखिएको छैन र संरक्षणमा समेत ध्यान दिइएको छैन भन्ने आम नगरवासीलाई परेको छ । आफ्नो सम्पत्ति संरक्षण गर्न सकेन भन्ने परेको छ । हामी आजको मितिले एक महिना भित्र उपत्यका नगरविकास समितिको नाममा कति जमिन कस्तो अवस्थामा छ भन्ने लेखाजोखा गरेर सार्वजनिक गछौं’ उहाँले भन्नुभयो ।

यसैबीच जिल्ला अदालत कास्कीको फैसला अनुरुप उपत्यका नगरविकास समितिको ठहर्ने फैसलाबाट प्राप्त जमिन सार्वजनिक हितका लागि प्रयोग गर्न खाली गराउने बैठकले निर्णय गरेको छ । त्यसका लागि ३५ दिने सूचना निकाल्ने र सम्याउने निर्णय भएको हो । साथै उक्त जग्गा प्राप्त गर्न नगरविकास समितिको तर्फबाट मुद्धा दायर गर्ने र बहस सबै प्रति बैठकले आभार प्रकट गरेको छ ।

१३ असारमा जिल्ला अदालत कास्कीले न्युरोडमा रहेको कित्ता नम्बर १६६८ नम्बरको ५ रोपनी, ४ आना भन्दा बढी जमिन पोखरा उपत्यका नगर विकास समितिको हुने फैसला गरेको थियो । चिप्लेढुङगा देखी सभागृह अन्तर्गत सडक निर्माणका लागि २०३२ सालमा तत्कालीन पोखरा नगर योजना कार्यान्वयन समितिले ४१ जना स्थानीय जग्गा धनीहरूबाट कबुलियतनामा गराई अधिग्रहण गरेको जग्गा मध्ये उनीहरूको जमिन मात्रै समितिको नाममा आउन बाँकी थियो ।