जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

फेसबुकबाट चिनजान इटहरीकी युवती पोखरामा बलात्कार नुवाकोटका मधुसुदन पाण्डे पक्राउ

फेसबुकबाट भएको चिनजान बलात्कारसम्म पुगेपछि एक पुरुष प्रहरी हिरासतमा पुगेका छन् । युवतीलाई फेसबुकमार्फत चिनजान गरेर भेट्न बोलाइ बलात्कार गरेको आरोपमा प्रहरीले नुवाकोट घर भइ राजधानीमा व्यवसाय गर्दै आएका नेपाली कांग्रेसका नुवाकोट जिल्ला नेता मधुसुदन पाण्डे पक्राउ परेका छन् ।

प्रहरीका अनुसार फेसबुकबाट बाक्लो कुराकानी हुन थालेपछि मधुसुदनले इटहरीकी युवतीलाई भेट्न बोलाए । सहमतिअनुसार एक्लै युवती चितवन आइन् । यस्तै अरु तीन जना साथीसहित काठमाडौंबाट चितवन पुगेका मधुसुदनले युवतीलाई घुम्ने बहानामा असार २२ गते त्यहीँबाट पोखरा लगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पोखरा लगेपछि चारै जना पोखरास्थित सहारा होटलमा बास बसे । सो क्रममा मधुसुदन र अर्का एक जनाले उनलाई बलात्कार गरेको युवतीको आरोप छ । घटनापछि युवतीले काठमाडौं आएर प्रहरी वृत्त मालीगाउँमा आफू बलात्कृत भएको उजुरी दिएकी थिइन् । उजुरी लगत्तै प्रहरीले पाण्डेलाई राजधानीको बालाजुबाट असार २५ गते पक्राउ गरेको हो ।

पक्राउपछि उनलाई कारबाही प्रक्रियाका लागि पोखरा लगेर अनुसन्धान भइरहेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी  सुन्दर तिवारीले अभियुक्तमाथि बलात्कार मुद्दामा म्याद थप भएर अनुसन्धान भइरहेको बताए । यस्तै बलात्कारमा संलग्न भनिएका अर्का एक जनासहित पाण्डेसँग गएका ४ जना फरार रहेका छन् । उनीहरुको खोजीकार्य जारी रहेको तिवारीले जानकारी दिए ।