जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महानगरपालिकामा मृत्यु भएकालाई ११ लाख ६० हजार रुपैयाँ भत्ता

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिकाले ज्यान गुमाइसकेका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिएको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औँ प्रतिवेदनमा ११ लाख ६० हजार रुपैयाँ निकासा गरेको उल्लेख छ ।

प्रतिवेदनमा महानगरमा सामाजिक सुरक्षा कार्यविधि विपरीत ज्यान गुमाइसकेकालाई पोखरा महानगरपालिकाका १० वटा वडामा भत्ता निकासा गरेको उल्लेख गरेको छ ।

सामाजिक सुरक्षा कार्यविधि २०७७ को दफा १५ (२) २ मा भत्ता खाइपाइ आएका कुनै व्यक्तिको मृत्यु भएको दिनसम्मको भत्ता भुक्तानी दिइ बाँकी रकम फिर्ता गरी सङ्घीय सञ्चित कोषमा दाखिला गर्न पोखरा महागनरपालिकालाई निर्देशन दिएको छ ।

त्यसैगरी पोखरा महनगरपालिकाका निवर्तमान मेयर मानबहादुर जीसीले आफू निर्वाचित भएको पहिलो दिन सामाजिक सुरक्षा भत्तामा थप १० प्रतिशत थप गर्ने निर्णय गर्नुभएकाे थियाे ।

त्यसै अनुसार पोखरा महानगरपालिकाले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा सहायता थप शीर्षकमा ६ करोड रुपैयाँ बजेट विनियोजन गरी मासिक २ सय थप गरी ३ करोड ६४ लाख २४ हजार रुपैयाँ भुत्तानी गरी व्ययभार बढाएको उल्लेख छ । महालेखाको प्रतिवेदनको ६ सय ६८ पेजमा यसबारेमा उल्लेख गरिएको छ ।

सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ को दफा १५ (२ ) मा सामाजिक सुरक्षा भत्ता पाइरहेका लाभग्राहीका लागि सङ्घीय सरकारबाट प्राप्त भत्ता रकममा स्थानीय सरकारले आफ्नो कोषबाट कुनै पनि रकम थप गरी प्रदान गर्न नसकिने व्यवस्था छ।