जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा श्रावण १७ र १८ गते ‘शास्त्रीय संगीत महोत्सव’

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा श्रावण १७ र १८ गते ‘शास्त्रीय संगीत महोत्सव’ हुने भएको छ । सनातन कला साहित्य कुञ्ज काठमाडौंको आयोजनामा पोखरामा उक्त कार्यक्रम हुने भएको हो ।

कार्यक्रममा वरिष्ठ सितार वादक प्रा.डा.ध्रवेश चन्द्र रेग्मी, वरिष्ठ कत्थक नृत्यकार कृष्ण प्रसाद पौडेल, कत्थक नृत्याङ्गना श्रुती काफ्ले,तबला वादक जगन्नाथ धगौडा, ध्रुपद गायक कुन्दन पाठक, बासुरी वादक उमेश पण्डित, पखावज वादक मुकेश शाक्य, तबला वादक निमेश कपालीको प्रस्तुती रहने संस्थाका संस्थापक अध्यक्ष उत्तम रिमालले जानकारी गराए ।

उनका अनुसार पहिलो दिनको कार्यक्रम पोखरा सभागृहमा साँझ ५ बजे हुनेछ । दोस्रो दिन विन्ध्यावासिनाी धार्मिक क्षेत्र विकास समितिको सभाहलमा आयोजना गरिनेछ । शास्त्रीय संगीतको उन्नयनका लागि आफुँले उक्त कार्यक्रमको आयोजना गर्दै आएको उनले बताए । रिमालले यसअघि काठमाडौंमा मात्रै शास्त्रीय संगीतकै ३५ वटा कार्यक्रम सम्पन्न गरिसकेका छन् भने काठमाडौं भन्दा बाहिर हेटौंडामा उनले कार्यक्रम सम्पन्न गरेका छन् ।

‘शास्त्रीय संगीतको महत्व बुझाउने उद्देश्य स्वरुप कार्यक्रमको आयोजना गरिएको हो । हामी पहिले काठमाडौं केन्द्रित मात्रै कार्यक्रम गथ्र्यौं । अब प्रदेश स्तरमा नै उक्त कार्यक्रमको आयोजना गर्दैछौं । हाम्रो क्षेत्र विशाल हुँदैछ ।’, उनले भने ।  उनले सुरुवाती समय जस्तो शास्त्रीय संगीतको अवस्था अहिले नभएको बताए । शास्त्रीय संगीतको महत्व बुझ्नेहरुको जमात बाक्लो हुँदै गएको तर्क उनको छ । पोखरा पनि संगीतको उर्भरभूमी भएकाले शास्त्रीय संगीत महोत्सव कार्यक्रमको आयोजना गरिएको जानकारी उनले गराए ।

‘पोखरा संगीतको उर्भरभूमी हो । लोकसंगीत र पपसंगीतमा पोखराको विशेषता आफ्नै छ । तर शास्त्रीय संगीतमा केही समय जुर्मुराएको पोखरा अहिले सुस्ताए जस्तै भएको छ । पोखरामा शास्त्रीय संगीतको महत्व बुझ्ने दर्शकका लागि हामीले उक्त कार्यक्रमको आयोजना गरेका हौं ।’, उनले भने ।

उनले पोखराबाट आफुँले राम्रो सहयोग प्राप्त गरेको जानकारी गराए । पोखरेली बासी संगीत अनुरागीहरुको साथ सहयोगले नै आफु कार्यक्रम गर्न तयार भएको भनाई उनको थियो । कार्यक्रममा गायक तथा जोजिजू म्युजिक स्कुलका संचालक विनित जोजिजूले शास्त्रीय संगीत व्यवसायिक हुनुपर्नेमा जोड दिए ।

पोखरामा शास्त्रीय संगीत महोत्सव जस्ता कार्यक्रमहरुले निरन्तरता पाउनुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । उनले तीनै तहको सरकारले समेत शास्त्रीय संगीतको महत्वलाई बुझी यसको व्यवसायिक प्रवद्र्धनमा सहयोग गरे पोखराले सांगीतिक रुपमा समेत फड्को मार्ने अभिव्यक्ति प्रस्तुत गरे ।

अग्रज कलाकार तथा तबला वादक श्यामलाल श्रेष्ठले पोखराको सांगीतिक उत्थानका लागि एकताको खाँचो रहेको बताए । उनले शास्त्रीय संगीत समाज गण्डकी प्रदेशले समेत पोखरामा शास्त्रीय संगीतको विकासका लागि आफ्नो तर्फबाट पहल कदमी गरिरहेको जानकारी गराए ।