जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा असोज ६ देखि ९ गते सम्म खुल्ला तेक्वान्दो च्याम्पियनसिप–२०२२

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा आगामी असोज ६ देखि ९ गते सम्म आयोजना हुने ‘तेस्रो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप–२०२२’ सफल बनाउन सहभागीहरुले प्रतिबद्धता जनाएका छन् ।

प्रतियोगिताको तयारी स्वरुप पोखरामा आइतबार सम्पन्न बैठकमा सहभागीहरुले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । बैठकमा आफ्ना भनाइ राख्दै प्रतियोगिताको आयोजक संस्थामध्येको एक नेपाल तेक्वान्दो संघका उपाध्यक्ष इन्जिनियर सञ्जीव रेग्मीले तेस्रो संस्करणको माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो च्याम्पियनसिप पोखरामा हुनु गौरवको विषय रहेको बताए । उनले भने, ‘प्रतियोगिता आयोजना गर्न जति सहज देखिन्छ त्यसलाई सफल बनाउन उत्तिकै चुनौती पनि छ ।’ उनले प्रतियोगितालाई सफल बनाउन भूमिका सम्पूर्ण पोखरेलीहरुको ऐक्यवद्धताको आवश्यकता औंल्याए ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले यो प्रतियोगिताले विश्वमा नै पोखराको शान उच्च हुने गरी साझा कार्यक्रमको रुपमा सफल बनाउन सबैको उत्तिकै दायित्व रहेको उल्लेख गरे । उनले प्रतियोगितामा तिनै तहको सुरक्षा निकायको परिचालन गरी विदेशी खेलाडी र पाहुनालाई सुरक्षा प्रदान गर्न आफूले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले प्रतियोगिता सफल बनाउन पोखरेलीहरुले नै स्वामित्व लिनुपर्ने कुरा औंल्याए । पोखरा खेलकुदको सहरको रुपमा स्थापित भए पनि यहाँ अझै अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना हुने गरी पूर्वाधार अभाव खड्किएको बताउँदै उनले अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता बढाउन संघले सक्रियतापूर्वक काम अघि बढाएको उल्लेख गरे ।

बैठकमा तेक्वान्दो संघका केन्द्रीय उपाध्यक्ष हरिश्वर पोखरेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई, पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदी, रेस्टुरेन्ट एन्ड बार एसोसियसनका अध्यक्ष लक्ष्मण बराल, हिसान गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष डा. रामजी शर्मा, नेपाल पर्यटन बोर्डका पूर्व सदस्य वासुदेव त्रिपाठी, गण्डकी प्रदेश तेक्वान्दो संघका महासचिव रमेश पौडल, कोषाध्यक्ष माइकल कर्माचार्य लगायतले प्रतियोगिता सफल बनाउनेबारे आफ्ना भनाइ राखेका थिए ।

गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुङ ‘तेस्रो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप–२०२२’ को हालसम्म भएको तयारीबारे जानकारी गराउँदै प्रतियोगितामा करिब १ हजार ५ सय खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको बताए ।