जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका सुरक्षाकर्मीहरुका लागि आत्महत्या रोकथामसम्बन्धी अभिमुखीकरण

जन्मभुमि खबर ,
पोखरा ।

सुरक्षाकर्मीहरुका लागि आत्महत्या रोकथामसम्बन्धी एकदिने अभिमुखीकरण मंगलबार पोखरामा सम्पन्न भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालय पोखराको आयोजना एवं कोसिस र सिबिएम ग्लोवलको आयोजनामा मानवअधिकार, मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण भएको हो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग पोखराका अधिकृत खिमलाल सुबेदीले मानव अधिकार र मानसिक स्वास्थ्यको बारेमा कार्यपत्र प्रस्तुत गर्दै मानवअधिकारको दायरा ब्यापक भएको भन्दै मानव मानव बिचमा समानता कायम हुनुपर्नेमा जोड दिए । उनले मानसिक स्वास्थ्य र मानव अधिकारबीच अन्तर सम्बन्ध भएको बताए ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराकी सिनियर कन्सल्ट्यान्ट साईक्याट्रिक विभागीय प्रमुख डाक्टर लिया वैद्यले आत्महत्या हुने कारण र रोकथाम न्यूनीकरण सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै यस्ता घटना दिनानुदिन बढ्दै गएको बताइन् । उनले डिप्रेशन नै आत्महत्याको प्रमुख कारण भएको बताइन् । धेरैजसो आत्महत्याहरु रोकथाम गर्न सकिने उनको भनाइ थियो ।

कोसिसका कार्यक्रम संयोजक सुुदिप घिमिरेले कोशिशले आत्महत्या रोकथाममा गरेका कामहरुको बारेमा जानकारी दिए । मनोसामाजिक स्वास्थ्य समस्या भएकाहरुलाई परामर्श दिँदै आएको उनले बताए ।

प्रहरीको तर्फबाट जिज्ञासा राख्दै रातिको समयमा घाइते वा कुनै पनि बिरामीलाई अस्पतालको इमरजेन्सीमा लैजाँदा उपचारमा समस्या हुने गरेको गुनासो गरेका थिए । यसरी उपचार नहुँदा बिरामीमा मानिसक समस्याहरु उत्पन्न हुने बताउँदै यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिइएका थिए ।

कार्यक्रममा संघीय प्रहरी प्रदेश कार्यालय गण्डकी, प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक प्रहरी गरी ३७ जना सहभागी थिए ।