जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

अविरल वर्षासँगै आएको बाढीपहिरोले गए रातिदेखि डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ ।

सो सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१, उदिपुरको देउराली डाँडामा पहिरोले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । वैकल्पिक सडकका रूपमा रहेको श्रीजंग गण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडकमाथिबाट रिठ्ठेबगरमा लेदो आएर सडक अवरुद्ध बनेको उनको भनाइ छ ।

लेदोले सडक अवरुद्ध हुनुका साथै उक्त स्थानको वैकल्पिक सडक पनि भासिएको छ ।  मर्स्याङ्दी नदीले तलबाट कटान गर्नुका साथै माथिबाट बगेर आएको लेदोले करिब तीन मिटर सडक भासिएको प्रहरीले जनाएको छ ।

सडक अवरुद्धका कारण बिहानैदेखि कुनै पनि सवारीसाधन आवतजावत हुनसकेको छैन । डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत उक्त देउराली डाँडामा गत वर्ष समेत पहिरो गएपछि वैकल्पिक रूपमा सो स्थाननजिकै माथिबाट सडक सञ्चालन गरिए पनि गएको साता आएको बाढीपहिरोले उक्त सडक स सडक हुँदै सवारी सञ्चालन गर्ने गरिएको छ ।

सडक अवरुद्ध भएपछि बेँसीसहरबाट काठमाडौं, पोखरा, चितवन, गोरखा, तनहुँलगायत स्थान जाने र ती स्थानबाट बेँसीसहर आउने सवारीसाधन सञ्चालन हुनसकेको छैन । गएको असार २८ गते सोही स्थानमा सडक अवरुद्ध भएको थियो । त्यसअघि पनि पटकपटक सडक अवरुद्ध हुँदै आएको थियो । ४२ किलोमिटर दूरी रहेको यस सडकमा पहिरोले यात्रुलाई समस्या उत्पन्न हुँदै आएको छ । रासस