जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गाउँपालिकाको अनुदानमा स्याङ्जामा सयपत्री फुल खेती

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले फूल खेतीमा ५० प्रतिशत अनुदान दिएपछि कृषक सयपत्री फूल खेतीतर्फ आकर्षित भएका छन् ।

फूल खेतीका माध्यमबाट स्थानीयवासीलाई रोजगारी दिने र आर्थिक लाभ लिने उद्देश्यसहित गाउँपालिकाले गत वर्ष आफैँले फूल खेती थालेकामा यस वर्ष किसानलाई ५० प्रतिशत अनुदान दिएर फूल खेतीतर्फ आकर्षित गरेको हो ।

यस वर्ष गाउँपालिकाले करिब १५ रोपनी क्षेत्रफलमा र अन्य कृषक समूह तथा व्यक्तिको ३५ रोपनीमा सयपत्री फूल खेती गरिने गाउँपालिकाका अध्यक्ष खीमबहादुर थापाले बताए । ‘गाउँपालिका आफैँले फूल खेती गरेर उत्पादित फूल बिक्रीबाट मनग्य आम्दानी गरेपछि यहाँका अन्य किसानलाई पनि यसको व्यावसायिक उत्पादनतर्फ आकर्षित गर्न ५० प्रतिशत अनुदान उपलब्ध गराउने निर्णय गरेका छौँ’, उनले भने ।

गाउँपालिकाले वडा नं ४ को बिर्घा पुछारमा करिब १५ रोपनीमा व्यावसायिक फूल खेती गर्नका लागि नर्सरी स्थापना गरिएको उनले बताए । गाउँपालिकाले व्यावसायिक रूपमा फूलखेती गर्नका लागि नर्सरी राखेको विर्घा पुछारमा पालिकाका सबै वडाबाट छनौट भई आएका कृषक समूह तथा कृषकलाई प्राविधिक ज्ञान दिइएको प्रमुख प्रशासकीय अधिकृत टङ्कराज पाण्डेयले बताए ।