जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकीमा ६२ प्रतिशत रोपाइँ सकियो , किसानलाई सधैं मलको अभाव

जन्मभुमि खबर ,
पोखरा ।

कृषकका लागि मानो खाएर मुरी उब्जाउने महिना असार यस वर्ष सकिनै आँट्यो । असार अन्तिम साता चलिरहँदा गण्डकी प्रदेशमा रोपाइँ आधाभन्दा बढी सकिएको छ । प्रदेशमा ६२ प्रतिशत रोपाइँ सकिएसँगै सिजनको आधाआधि काम सकिएको हो ।

गण्डकीमा धानखेती हुने क्षेत्रफल १ लाख ३ सय १० हेक्टरमध्ये ६२ हजार ५ सय १० हेक्टरमा रोपाइँ पूरा भएको कृषि विकास निर्देशनालय, गण्डकीका निमित्त प्रमुख बासुदेव रेग्मीले जानकारी दिए । तर आधा बढी रोपाइँ भइसक्दा समेत कृषकलाई मल अभाव कायमै छ । ‘धेरै कृषकले धान लगाइसके,’ उनी भन्छन्, ‘किसान अरु समस्या सुनाउँदैनन् । मात्र मल नपाएको भन्छन् । हामी कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङलाई भनिरहेका छौं । आउने ठाउँबाटै आएको छैन ।’

आकासेपानी र सिंचाइ सुविधा बिस्तार भएकाले समयमा रोपाइँ हुँदा यस वर्ष धान उत्पादन बढ्ने अनुमान गरिएको छ । रेग्मीका अनुसार जिल्लाहरुबाट प्राप्त तथ्यांक असार २२ सम्मको हो । ‘अब लगभग रोपाइँ सकिने अवस्थामा छ । असार तेस्रो सातासम्म ६२ प्रतिशत रोपाइँ भएको हो,’ उनले स्पष्ट पार्दै भने, ‘अहिले समयमै पानी परेका कारण मूल फुट्न सुरु भइहाल्यो । त्यसैले रोपाइँ पहिलेको भन्दा धेरै भएको छ ।’ अझै केही ठाउँमा रोपाइँ चलिरहेकाले यस वर्ष प्रदेशमा ९५ प्रतिशतसम्म रोपाइँ हुने उनको अनुमान छ । गत वर्ष यस अवधिमा ३६ प्रतिशतमात्र रोपाइँ भएको थियो । केही धानखेतीका लागि योग्य जमिन विभिन्न कारण बाँझै रहने समस्या रहेको कारण ४/५ प्रतिशत बाँझो रहने उनी बताउँछन् ।

यसपालि मनसुनले पनि साथ दिएकोले धान उत्पादनमा वृद्धि हुने कृषि निर्देशनालयले जनाएको छ । तर बेलैमा किसानले मल नपाउँदा उत्पादनमा असर गर्ने उनको भनाइ थियो । अन्य प्रदेशमा धान लगाउने बित्तिकै रोगको समस्या देखिए पनि गण्डकीमा कुनै समस्या नदेखिएको रेग्मीले बताए । ‘अरु ठाउँमा जस्तो धानका रोगको समस्या छैन,’ उनले भने, ‘केही जिल्लामा बाढी पहिरोको समस्या भने परेकै छ ।’

‘किसान अरु समस्या सुनाउँदैनन् । मात्र मल नपाएको गुनासो गर्छन्’

गण्डकीमा ४ लाख टन धान उत्पादन भए पनि प्रदेशवासीलाई वर्षैभरि यहीको उत्पादनले धान्दैन । यहाँ उत्पादित धानबाट २ लाख टनमात्र चामल बन्छ । ‘२०६८ को जनगणनाअनुसार प्रदेशभर २५ लाख जनसंख्या हो । अहिले बढेर २७ लाख हाराहारीमा पुगिसक्यो होला,’ रेग्मीले भने, ‘एक जनाले १ वर्षमा २ सय १ किलो खाद्यान्न खान्छ, यसरी यहाँको उत्पादनले कहाँ पुग्छ ?’ प्रदेशमा चामलका लागि बाहिरी जिल्लाकै भर भए पनि पछिल्लो समय धानखेतीमा किसान आकर्षित भइरहेको उनको भनाइ छ ।

यता, कृषि सामग्री कम्पनी लिमिटेडले भने युरिया मल आउन साउन
कुर्नुपर्ने जनाएको छ । बफर जोन (स्टक) मा रहेको डिएपी र पोटास केही दिनमा बाँड्ने सहमति भएको लिमिटेडका गण्डकी शाखा प्रमुख ठाकुरप्रसाद बास्तोलाले जानकारी दिए । युरिया मल भने स्टकमै सकिएकाले गाह्रो भएको उनले सुनाए । साउन १५ सम्म युरिया मल नेपाल भित्रिने गरीसम्झौता भएको लिमिटेडका शाखा प्रमुख बास्तोलाको भनाइ छ । ‘हाम्रो प्रबन्ध सञ्चालक भारत गएर १५ हजार मेट्रिक टन यूरियाका लागि सम्झौता गरेर आउनुभएको छ,’ उनले भने, ‘उहाँअनुसार साउन १५ सम्म मल नेपाल झरिसक्छ भन्ने हो ।’ बफर स्टकमा रहेको डिएपीमध्ये ३ सय मेट्रिक टन १ हप्ताभित्रमा बाँड्ने सहमति भएको उनले जानकारी दिए । बफर स्टकमध्ये वीरगञ्ज भन्सारमा ७ सय मेट्रिक टन र भैरहवामा ६ सय मेट्रिक टन मल छ ।

यता, गण्डकीका ११ जिल्लामध्ये हिमालपारीका जिल्लाहरु मनाङ र मुस्ताङमा धानखेती हुँदैन । म्याग्दीको अधिकांश क्षेत्र हिमाली क्षेत्रमा पर्ने भएका कारणले कम मात्रामा मात्रै धान उत्पादन हुन्छ । म्याग्दीको ३ हजार ८ सय ३० हेक्टरमा धानखेती हुनेमध्ये १ हजार ५ सय ३२ हेक्टर (४० प्रतिशत) मा रोपाइँ भइसकेको छ । सदरमुकाम बेनीसहित रघुगंगा, मंगला, धवलागिरी र मालिकाका केही वडालाई धानको प्रमुख पकेटक्षेत्र मानिएको छ । प्रदेशअन्तर्गत कास्कीमा सबैभन्दा बढी ८० प्रतिशत रोपाइँ सकिएको छ । जिल्लाको ठूलीवेंसी, आर्वा, टाकान्जा, पामे, लेखनाथ, लाहाचोक, घाचोकलाई धानको पकेटक्षेत्र मानिन्छ । कास्कीपछि सबैभन्दा बढी रोपाइ सकिएको जिल्ला हो–नवलपुर । नवलपुरमा ७० प्रतिशत पूरा भएको छ । नवलपुरको गैंडाकोट, मध्यबिन्दु, बुलिङटार, विनयी त्रिवेणी र कावासोती लगायत पालिकालाई धानको पकेटक्षेत्र मानिन्छ । उता, बागलुङमा ६५ प्रतिशत सकिएको छ । जिल्लाको गल्कोट, निसीखोला, ढोरपाटन, काठेखोला र जैमिनी पकेटक्षेत्र हुन् ।

यस्तै, लमजुङमा ६२, स्याङ्जामा ६१, गोरखामा ५५, तनहुँमा ४२ र पर्वतमा ४० प्रतिशत रोपाइँ पूरा भएको कृषि विकास निर्देशनालय गण्डकीले जनाएको छ ।