जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

खुकुरी प्रहार गरेर श्रीमतीको हत्या, तीन तलामाथिबाट भाग्न खोज्दा खसेर श्रीमानको पनि मृत्यु

चितवनको भरतपुरमा श्रीमानले श्रीमतीलाई धारिलो हतियार (खुकुरी) प्रहार गरी हत्या गरेका छन् । भरतपुर महानगरपालिका–१० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादका कारण आफ्नै श्रीमती ३५ वर्षीय रुष्मा आचार्य घिमिरेलाई आइतबार राती  १०: २५  बजेको समयमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

श्रीमतीको हत्या गरेर तीन तला माथिबाटै हाम फालेर भाग्न खोज्दा श्रीमान कृष्णप्रसाद आचार्यको पनि मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए ।कृष्णप्रसादले आफ्नै घरको तीन तलामाथि रहेको बैठक कोठामा श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भई उपचारको लागी रुष्मालाई पुरानो मेडिकल कलेज लगिएकोमा आइतबार राती नै १०:४० बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको अधिकारीले बताए । तीन तलाबाट हाम फाल्दा घाइते भएका कृष्णप्रसादको चितवन मेडिकल कलेजमा उपचारका क्रममा राती ११ बजे मृत्यु भएको हो ।