जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आजदेखी पोखरामा राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिता

जन्मभुमि खबर ,
पोखरा ।

आजदेखी १४ गतेसम्म पोखराको सभागृहमा कल्याण शेरचन स्मृति प्रतिष्ठानको आयोजनामा राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिता, स्रष्टा सम्मान एवं इन्द्रेणी कार्यक्रम र दोहोरी गितको घम्साघम्सी हुने भएको छ ।

प्रतियोगितामा ४६ वटा प्रतियोगिहरुको सहभागीता रहने भएको छ भने प्रवेश निःशुल्क रहेको छ ।

प्रतियोगितामा प्रथम हुने समुहले नगद रु ६ लाख, द्धितीय हुने समुहले नगद रु ४ लाख, तृतीय हुने समुहले नगद रु २ लाख र सान्त्वना हुने समुहले नगद रु १ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ । त्यस्तै उत्कृष्ट गायक–गायिकाले नगद रु ५० हजार प्राप्त गर्ने भएका छन् भने अनुशासित समुहले नगद रु ५० हजार प्राप्त गर्ने पूर्ण बहादुर अध्यक्ष गुरुङ्गले बताएका छन् ।

यस्तै यस प्रतियोगितामा सर्वोत्कृष्ट हुने कलाकारले यु.के. र हङकङको भ्रमण गर्ने सुनौलो अवसर समेत प्राप्त गर्नेछन ।

कार्यक्रम लोक स्रष्टा, साधन तथा शिल्पी कल्याण शेरचनको ७६ औं जन्मजयन्तीको अवसरमा आयोजना गर्न लागेको हो ।

नेपालमा नै पहिलो नेपाली लोकबाजाहरुको संग्राहलय गण्डकी प्रदेशको राजधानी पोखरामा निर्माण गरी नेपाली लोकबाजाहरुको संरक्षण र संम्बद्र्धन गर्न एवं स्वर्गिय शेरचनको प्रतिमा निर्माण गर्ने उद्देश्यका साथ विशेषगरी यस कार्यक्रमको आयोजना गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष गुरुङ्गले जानकारी दिएका छन् ।

हालसम्म प्रतिष्ठानले विभिन्न महत्वपूर्ण कार्यहरु जस्तै पश्चिमाञ्चल स्तरीय कौरा (चुट्का) गीत प्रतियोगिता २०६८, कल्याण स्मारिका तथा जम्काभेट गीतसंग्रह लोकार्पण तथा स्रष्टा सम्मान कार्यक्रम २०६९, स्रष्टा सम्मान तथा विविध साँस्कृतिक कार्यक्रम २०७०, कल्याण शेरचन स्मृति सेभेन–ए साईड फुटबल प्रतियोगित तथा सम्मान कार्यक्रम २०७१ लगायतका अन्य धेरै कार्यहरु सम्पन्न गरिसकेको समेत उनले बताएका छन् ।

गण्डकी प्रदेशको सांगीतिक पहिचानको रुपमा रहेको कौरा गीत एवं नृत्यलाई जनमानसमा पु्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका सांगीतिक अभियान्ता स्वर्गिय कल्याण शेरचनको स्मृतीमा यस प्रतिष्ठानको स्थापना गरी उनका कृतिहरुको खोज, अनुसन्धान, संरक्षणका साथै नेपाली लोकगीत संगीतको विकास, विस्तार प्रवद्र्धनका कार्यहरु गरिरहेको उनले जानकारी गराएका छन् ।

प्रतिष्ठानले संगित, खेलकुद तथा शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरुलाई सम्मान, अभिनन्दन, पुरस्कृत गर्ने कार्यहरु पनि गर्दै आएको छ । कोरोना कहरका कारण २ वर्षसम्म यस्ता कार्यक्रहरु सम्पन्न गर्न नसकेको यस प्रतिष्ठानले पून आफ्ना कार्यक्रमहरुलाई निरन्तरता दिन सो कार्यक्रमको आयोजना गर्न लागेको हो ।

स्वर्गिय कल्याण शेरचनले सोह्र वर्षे उमेरमा मै पनि झिल्के हुँदो हो, आहा कलिलो तामालाई सोध रामलाई, ऐ भेना यो साल लगायतका उल्लेखिय कालजयी गीतहरु संकलन गर्नुका साथै नेपाली गीत संगीतको क्षेत्रमा फरक किसिमको स्वाद, शैली र विम्ब भित्र्याउन सफल रहेका थिए । उनले मास पिटीलाई नेपालमा भित्र्याई विद्यालय स्तरमा प्रशिक्षण र प्रवद्र्धन समेत गरेका थिए ।

ग्रामिण कुना कन्दरामा गाईने नेपालीपन बोकेका, मौलिक लय एवं भाकाको गीतहरु संकलन, गायनका साथै नेपाली लोकगीत, नृत्य र संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा उत्थानमा उनको महत्वपूर्ण योगदान रहेको छ ।