आजदेखि पोखरामा “मेट्रो मिट नेपाल” सम्मेलन
जन्मभुमि खबर ,
पोखरा ।
आजदेखि पोखरामा
देशका छ वटै महानगरका प्रमुखको भेला ‘मेयर सम्मेलन’ हुँदैछ ।
पोखरा महानगरको आयोजनामा हुन लागेको उक्त सम्मेलनमा महानगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहने बताइएकाे छ।
महानगरले सम्मेलनलाई ‘मेट्रो मिट नेपाल’ नाम दिएको छ ।
साउन १४ गतेसम्म सञ्चालन हुने सो सम्मेलनमा सहभागी ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन र वीरगञ्ज महानगर प्रमुख राजेशमा सिंह बिहीबार साँझ नै पोखरा आइपुगेका छन्।
अन्य महानगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत आज बिहानसम्म आइपुग्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए।
सम्मेलनमा महानगर सञ्चालनका विद्यमान कानुन र आवश्यक सुधारका विषयमा छलफलसहित अनुभव आदानप्रदान गरिने प्रमुख आचार्यले बताए।
महानगरलाई जनउत्तरदायी बनाउन निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवालका विषयलाई सम्बोधन गर्न सम्मेलन फलदायी हुने विश्वास लिइएको प्रमुख आचार्यले बताए।
उनले भने, ‘गाउँपालिका र नगरपालिकाका समस्या सुनाउने छुट्टै फोरम भए पनि महानगरको आफ्नो छुट्टै फोरम नभएकाले साझा समस्या, चुनौती र अवसर पहिल्याउन सम्मेलन आयोजना गरेका हौँ। सम्मेलनले पोखरा घोषणापत्र जारी गर्छ। घोषणापत्र सम्बन्धित निकायमा सुझावका रुपमा पेश गर्नेछौँ।’
सम्मेलनको कार्यतालिकामा पहिलो दिन पोखरा, काठमाडौँ, विराटनगर, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिकाका प्रमुखले आ–आफ्ना महानगरका मुख्य योजना र कार्यान्वयनका चुनौती’बारे धारणा राख्ने कार्यसूचीमा उल्लेख छ।
त्यसपछि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले ‘सङ्घीयता, महानगर र अबको बाटो’ बारे मुख्य प्रस्तुति दिने कार्यक्रम रहेको छ।