जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

१९औँ एसियन गेम्सको नयाँ मिति तय

चीनको हाङजाउमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियन गेम्स) को नयाँ मिति तय भएको छ ।

कोभिड–१९ महामारीका कारण स्थगित भएको प्रतियोगिताका लागि ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)ले मंगलबार २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना हुने भनि नयाँ मिति तय गरेको हो ।

यसअघि २०२२ सेप्टेम्बर १० देखि २५ सम्म हुने तालिका थियो । तर, चीनमा कोभिड–१९ को संक्रमण बढ्न थालेपछि गत मेमा प्रतियोगिता अनिश्चित कालका लागि स्थगित गरिएको थियो ।

प्रतियोगिता स्थगित भएपछि ओसीएले कुनै पनि ठुलो प्रतियोगितासँग नजुध्ने गरी नयाँ मिति तय गर्न एक कमिटी बनाएर खटाएको थियो । उक्त कमिटीले चीनियाँ ओलम्पिक कमिटी र हाङजाउ एसियन गेम्स आयोजना कमिटीसँग छलफल गरेर नयाँ मिति तय गरेको हो ।

एसियन गेम्स चीनमा हुन लागेको यो तेस्रो पटक हो । पहिलो पटक १९९० मा चीनको बेइजिङमा आयोजना भएको थियो । दोस्रो पटक २०१० मा गोउन्जाउमा चीनले एसियन गेम्सको आयोजना गरेको थियो ।

नेपालले एसियन गेम्समा २३ खेलमा सहभागिता जनाउने निर्णय गरिसकेको छ । त्यसका लागि नेपालले पहिलो चरणको विशेष प्रशिक्षण समेत गरिसकेको छ ।

नेपालबाट तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल महिला, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथेलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी महिला, फेन्सिङ, ह्याण्डबल महिला, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ, ब्याडमिन्टन र टेबल टेनिसले सहभागिता जनाउने छन् ।