जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सर्वनाम शिक्षालयको होस्टेलका वार्डेन रामजी बस्नेत यौन दुर्व्यवहारको आरोपमा जेल चलान

राजधानीको गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीस्थित सर्वनाम शिक्षालयको होस्टेलका वार्डेन रामजी बस्नेत यौन दुर्व्यवहारको आरोपमा जेल चलान भएका छन्। जिल्ला अदालत काठमाडौंले बिहीबार उनलाई पुर्पक्षका लागि जेल चलान गरेको हो।

जिल्ला अदालतका न्यायाधीश केदारप्रसाद पौडेलको एकल इजलासमा भएको ‘थुनछेक बहस’पछि अन्तरिम आदेशमा ‘संरक्षक र अभिभावकका रूपमा रहेका शिक्षकबाट यस्तो व्यवहार अपेक्षित हुँदैन’ भन्दै पुर्पक्षका लागि जेल पठाएको छ। बिहीबारै प्रहरीले उनलाई डिल्लीबजार कारागार पुर्‍याएको छ।

रामेछाप गोकुलगंगा गाउँपालिका–२ ठोसेका अभियुक्त ३५ वर्षीय बस्नेतमाथि आफ्नै शिक्षालयको होस्टेलमा बस्ने छात्राहरूमाथि यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेको थियो। यस्तो आरोप लगाउँदै उनीविरुद्ध कक्षा ७, ८ र १० मा अध्ययनरत क्रमसः ११ वर्ष, १२ वर्ष र १४ वर्षका तीन छात्राले ‘बाल यौन दुरूपयोग’ मुद्दामा जेठ २१ गते प्रहरीमा जाहेरी दिएका थिए।

जाहेरीपूर्व सोही दिन पीडित छात्राका अभिभावकहरूले सर्वनाम शिक्षालय घेराउ गर्दै नाराबाजी गरेका थिए। पीडितहरूका अनुसार वार्डेन बस्नेतले छात्राबासमा बस्ने आठ छात्रामाथि ६/७ महिनायता यौन दुर्व्यवहार गर्दै आएको बताएका थिए।

यद्यपि न्यायका लागि जाहेरी दिन भने तीनजना मात्रै पुगे। वार्डेन बस्नेतले छात्राहरूसँग तिम्रो वेट (तौल) कति छ ? भनेर सोध्ने, सही भन्दा होइन होला म आफैं चेक गर्छु भन्दै अँगालो हाल्ने, एक्लै भेट्टाए संवेदनशील अंग छुनेरसमाउने, बलजफ्ती काखमा राख्ने, मोबाइलमा अश्लील फिल्म राखिदिने गर्ने गरेको बताएकी थिइन्। उनीहरूले यही कुरा अदालतको बयानमा पनि बताएकी छन्। तर बस्नेतले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन्।

प्रहरीकहाँ आएको जाहेरी र प्रहरी अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अभियुक्त बस्नेतलाई ‘बालयौन दुर्व्यवहार’मा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो। सोही मुद्दाको थुनछेक बहसमा पीडित बालिकाहरूका तर्फबाट अधिवक्ता विनोदमणि भट्टराई र लबन न्यौपाने बहस गरेका थिए। मुलुकी अपराध संहिता २०७४ को दफा २२५ (३) अनुसार बालयौन दुरूपयोग गर्नेलाई ३ वर्ष कैद र ३० हजार जरिवानाको व्यवस्था छ।