जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रातारात प्रायोजित रूपमा छाप्रा बनाई सार्वजनिक जग्गा कब्जा गरिएको पाईएपछि भत्किएका हौ : पोखरा महानगर परिवार

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिकाले महानगरले सुकुम्वासीलाई हटाएको नभई अतिक्रमणकारीले हडपेको सार्वजनिक जग्गालाइ खालि गराएको बताएको छ । पोखराको वडा नं. ३३ मा सोमबार छाप्राहरू भत्काएको विषयलाई लिएर सामाजिक सञ्जालमा टिका टिप्पणी भएपछि महानगरले मंगलबार एक सूचना जारी गर्दै यस्तो जनाएको हो ।

महानगरले वडा नं. ३३ मा अनधिकृत रूपमा निर्माण गरिएका २६ वटा छाप्राहरू भत्काएको जनाउँदै रातारात प्रायोजित रूपमा घर टहरा बनाई सार्वजनिक जग्गा कब्जा गर्नेहरूलाई हटाएको स्पष्ट पारेको छ ।

सार्वजनिक सम्पतिको संरक्षणमा महानगर लागेको उल्लेख गर्दै पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले हटाइएका मध्य कोही पनि व्यक्ति सुकुम्वासी नभएकोले भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।

‘… पोखरा महानगरको वडा न १८, ३३ लगायतका सार्वजनिक स्थानमा रातारात प्रायोजित रूपमा घर टहरा बनाई सार्वजनिक जग्गा कब्जा गरिएको पाइएपछि उहाँहरूलाई स्थानीय प्रसासनको सहयोगमा ठाउँ खालि गर्न र सार्वजनिक स्थल अतिक्रमण नगर्न पटक पटक अनुरोध गरिएको थियो ।यसरी पटक पटक अनुरोध गर्दा अटेर गरिएको पाइयो त्यसपछि अन्तिममा ७ दिनको सूचना दिएर सार्वजनिक जग्गा खालि गराइएको हो। हटाइएका मध्य कोही पनि व्यक्ति सुकुम्वासी नभएको जानकारी गराउँदछौ’, सूचनामा भनिएको छ ।

अव्यवस्थित बसोबास गरेकाहरूको समेत गरी महानगरका विभिन्न स्थानमा बसोबास गर्दै आइरहेका वास्तविक भूमिहीन तथा सुकुम्वासीहरूको लगत संकलन पुरा गरी भूमि आयोगको सिस्टममा करिब २० हजार आवेदनहरू अपलोड गर्ने कार्य भइरहेको रिज्यालले जनाउनुभएको छ । सकेसम्म छिटो सुकुम्वासी समस्या समाधान गरी वास्तविक भूमिहीन एवं सुकुम्वासीहरूलाई लालपुर्जा वितरण गर्ने क्रममा महानगर रहेको उहाँले उल्लेख गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालयको सहयोगमा नगर प्रहरी, जिल्ला प्रहरी कार्यालय कास्की, इलाका प्रहरी कार्यालय डाँडाको नाक र सशस्त्र प्रहरीको सहकार्यमा महानगरले सोमबार वडा नम्बर ३३ को दुई पिप्लेमा निर्माण गरिएका २३ छाप्रा र पशुपति घाटमा निर्माण गरिएका ३ छाप्रा गरी २६ वटा छाप्रा भत्काएको थियो ।

पोखरा महानगरका मेयर धनराज आचार्यले महानगर पोखराका सबै सार्वजनिक जग्गाको संरक्षण अभियानमा लाग्ने बताउदै आउनुभएको छ ।