जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रवि लामिछानेको घोषणा : अबदेखि नेपालमै बनेका पोशाक लगाउँछु

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व सञ्चारकर्मी रवि लामिछानेले नेपालमा बनेका पोशाक मात्रै आफूले लगाउने घोषणा गरेका छन्।

झापाको बिर्तामोडमा आयोजित पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै लामिछानेले यस्तो घोषणा गरेका हुन्।
‘परिवर्तन आफैंबाट गर्नुपर्ने रहेछ,’ उनले भने, ‘म अब नेपालमा बनेको नेपाली उत्पादनका लुगा मात्रै लगाउँछु।’

झापामा आयोजित कार्यक्रममा उनी कुर्ता, सुरुवाल र इस्टकोट लगाएर उभिएका थिए।

आफूले लगाएको पहिरन सबै नेपालको मात्रै भएको बताउँदै उनले भने, ‘मैले अहिले लगाएको पहिरन पनि नेपालको मात्र हो।’

कपडा मात्र नभई अन्य सामाग्रीहरु पनि नेपालमा नै बनेको प्रयोग गर्ने उनले बताएका छन्।

आफ्नो पार्टी नेपालमा बनेका सामग्रीहरुको प्रवर्द्धनमा लाग्ने पनि उनले बताए। ‘नेपालमा बनेका सामाग्री प्रयोग गर्नेछु। ती सामाग्रीको प्रवर्द्धनमा हाम्रो पार्टी लाग्नेछ,’ उनले भने।

गत ७ असारमा राजधानीको राष्ट्रिय सभागृहमा एक कार्यक्रम आयोजना गर्दै लामिछानेले पार्टी घोषणा गरेका थिए।

त्यसयता, उनी देशका विभिन्न जिल्लाका भेलामा सहभागी हुन दौडधूप गरिरहेका छन्।