जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मेघगर्जन चट्याङसहित पानी पर्ने सम्भावना

अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले बताएका छन् । आज (बिहीबार) बिहान देशका तीन प्रदेशमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश-१, वागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित पानी परिरहेको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ । देशका पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने

विभागले जनाएको छ । बाँकी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावजोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।