जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मलामी बोकेको ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु , ४२ जना घाइते

सङ्खुवासभाको चैनपुर नगरपालिका १० दुमकटामा मलामी बोकेकाे ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएकाे छ भने ४२ जना घाइते भएका छन् ।

आज शुक्रवार दिउँसो १ बजेतिर पिलुवा खोलामा मृतकको दाहसंस्कार गरी लेगुवा–खाँदबारी सडक खण्ड हुँदै खराङबाट फर्किने क्रममा चैनपुरको दुम्कटा भन्ने ठाउँमा को १ त ३९६१ नम्बरको ट्र्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिनुभयाे ।

ट्र्याक्टर दुर्घटनामा घाइते भएका चैनपुर १० का २४ वर्षीय गंगाबहादुर तामाङ र चैनपुर ९ का ४६ वर्षीय केशव कार्कीको उपचारको क्रममा ज्यान गएकाे उहाँले बताउनुभयाे । उहाँका अनुसार ट्र्याक्टरमा ४४ जना चढेका थिए ।

घाइतेहरूको तुम्लिङटारमा रहेकाे मनकामना अस्पताल र जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ । ट्र्याक्टर चालक चैनपुर १० का ३४ वर्षीय मोहनकुमार तामाङलाई प्रहरीले पक्राउ गरेकाे छ ।