जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज  बिहानदेखि अवरुद्ध भएको छ । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा गए राति पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा यातायात सेवा बन्द भएको हो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले सडकको बीचमा ठूलो ढुंगा खसेर अवरोध भएको बताए । “सडक खुलाउने काम भइरहेको छ,” उनले भने, ।

सडक स्तरोन्नतिको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीको डोजर परिचालन गरे पनि सफल नभएपछि विस्फोटक पदार्थको प्रयोग गरेर ढुंगा फुटाउन सडक आयोजनामार्फत जिल्ला प्रशासन कार्यालयमा प्रस्ताव गरिएको छ ।

नेपाली सेनाको टोलीलाई विस्फोटक पदार्थको प्रयोग गरेर ढुंगा फुटाई सडक खुलाउन काभ्रेभिर पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सडक अवरुद्ध हुँदा बेनीबाट मुस्ताङतर्फ र मुस्ताङबाट म्याग्दीतर्फ आउने–जाने सवारीसाधन बीचसडकमा रोकिएका छन् ।

अत्यावश्यक कामले गन्तव्यमा पुग्नुपर्ने सवारीसाधन परिवर्तन गरेर यात्रा गर्न बाध्य छन् । स्थानीयवासी, मुस्ताङ घुम्ने पर्यटक र मुक्तिनाथ दर्शनका लागि आउने र जाने भक्तजनलाई समस्या भएको छ ।