जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा गत आर्थिक वर्षमा झन्डै ५ अर्ब राजश्व संकलन

जन्मभुमि खबर ,
पोखरा ।

आन्तरिक राजश्व कार्यालय पोखराले गत आर्थिक वर्षमा ४ अर्ब ८८ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा कुल ५ अर्ब १० करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा कार्यालयले लक्ष्य नजिक ९६ प्रतिशत राजस्व संकलन गरेको उल्लेख गरेको छ ।

कार्यालयले आर्थिक वर्ष २०७७÷०७८ मा ४ अर्ब ४० करोड मात्र राजश्व संकलन गरेको थियो । अघिल्लो आर्थिक वर्ष भन्दा यो वर्ष राजश्व संकलन बढेको छ । पोखरा आन्तरिक राजश्व कार्यालय प्रमुख रमेश शर्माले आर्थिक वर्ष २०७८÷७९ मा आयकर १०६ प्रतिशत, घरबहाल कर १२२ प्रतिशत, व्याजकर ७३ प्रतिशत, मूल्य अभिवृद्धिकर ८५ प्रतिशत, अन्तःशुल्क कर ६९ प्रतशत, स्वास्थ्य १७७ र शिक्षातर्फ ४ प्रतिशत गरी जम्मा ९६ प्रतिशत राजश्व संकलन भएको बताए ।

उनले मूल्य अभिबृद्धि कर भने लक्ष्य अनुसार संकलन हुन नसकेको बताए । प्रमुख शर्माले कोरोनाको प्रभावका कारण व्यापार व्यवसायले राम्रोसँग लयमा आउन नसक्नु र स्थानीय, प्रदेश सरकारले बजेट पूर्ण रुपमा खर्च नगरेकोले मूल्य अभिवृद्धिकर कम भएको बताए ।

उनले राजश्व संकलन वृद्धिदरअनुसार कमै भएपनि यो रकम सन्तोषजनक नै मान्नुपर्ने बताए । कार्यालय प्रमुख शर्माले पोखराको राजश्व संकलनको मुख्य श्रोत पर्यटन रहेको भन्दै कोरोनाले पर्यटन व्यवसाय तङ्ग्रिन नसकेकोले लक्ष्य हासिल हुन नसकेको स्वीकार गरे ।

आन्तरिक राजश्व कार्यालय पोखरामा हाल करदाता १ लाख ७५ हजार छन् । तीमध्ये ६१ हजार भ्याटमा छन् । प्रमुख शर्माले फर्म दर्ता नगरी सञ्चालन गरेकालाई करको दायरामा ल्याउने बताए । कार्यालयले पनि बेलाबेलामा करदाता शिक्षा र बजार अनुगमन गर्दै आएको शर्माले बताए ।

उनले करको दायरा वृद्धि गर्दै कर छल्ने प्रवृत्ति र चुहावट घटाउनेतर्फ पनि कार्यालय लागिपरेको बताए । विगतमा गण्डकीका विभिन्न जिल्लाको राजश्व प्रदेश राजधानी पोखरामै हुने गरेकोमा अहिले स्याङ्जा, बागलुङ, तनहुँ र नवलपुरबाट समेत राजश्व संकलन गरिन्छ ।