जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको पर्यटन बसपार्क महानगरपालिकालाई हस्तान्तरण

जन्मभुमि खबर ,
पोखरा ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरामा निर्मित पर्यटकीय बसपार्क पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेका छन् ।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई पर्यटकीय बसपार्क हस्तान्तरण गरेका हुन् ।

पर्यटकीय सहर पोखरास्थीत राष्ट्र बैंकचोकनजिक पर्यटन विभागले ८ करोड ४५ लाख लागतमा पर्यटकीय बसपार्क निर्माण गरेको हो । ७ हजार ९ सय वर्गमिटरमा निर्मित पर्यटकीय बसपार्कमा ४० वटा बस, १० वटा माइक्रोबस र २० वटा ट्याक्सी पार्किङ गर्न मिल्नेछ । मन्त्री श्रेष्ठले व्यवस्थित बसपार्क निर्माणले पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने बताए ।

पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ छ । मन्त्री श्रेष्ठले पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गर्ने प्रतिवद्धता समेत जनाए ।

पोखरा महानगरपालिका मेयर धनराज आचार्यले पोखरालाई पर्यटकहरुको राजधानी बनाउनको लागि व्यवस्थित बनाउने काम तीब्र रुपमा अगाडि बढाउने बताए । उनले पर्यटक आउने पर्यटन बसपार्क अव्यवस्थित भएकाले अब पर्यटन बसपार्क व्यवस्थित बनाउने बताए ।   मेयर आचार्यले १८ रोपनी क्षेत्रफलमा फैलिएको पर्यटन बसपार्क करिव ८ करोडको लगानीमा निर्माण सम्पन्न भएर आजबाट त्यसको जिम्मेवारी महानगरलाई आएको बताए । मेयर आचार्यले पर्यटन बसपार्क निर्माणले पोखराको समग्र पर्यटन विकासका लागि ठूलो योगदान पुर्याउने बताए ।