जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पहिरोले डुम्रे–बेँसीशहर सडक अवरुद्ध

गए रातिदेखि परेको वर्षाले पहिरो जाँदा डुम्रे बेँसीशहर सडकखण्ड अवरुद्ध भएको छ । बेँसीशहर नगरपालिका–१ उदीपुरको देउरालीडाँडामा पहिरो खस्दा सो सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।

सो सडकखण्डको वैकल्पिक रूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदीपुर बजार जोडिने यस भागमा माथिबाट लेदो आएर सडक अवरुद्ध बनेको हो । गत वर्ष र केही हप्ताअघि गएको बाढीले डुम्रे बेँसीशहरको देउरालीडाँडाको सडक नै बगाएपछि उक्त स्थानबाट वैकल्पिक सडकको रुपमा सञ्चालन हुँदै आए पनि यस खण्डसमेत पटक–पटक बाढी पहिराले अवरुद्ध बनाउँदै आएको छ ।

सडक अवरुद्ध भएपछि बेँसीशहरबाट काठमाडौँ, पोखरा, चितवन, तनहुँ, गोरखालगायत जाने सो स्थानबाट बेँसीशहर आउने सवारीसाधन सञ्चालन हुन नसकेको प्रहरी निरीक्षक रेग्मीले बताए । पहिरोले बेँसीशहर–चामे सडकसमेत अवरुद्ध भएको छ ।  गए रातिको वर्षाले बेँसीशहर नगरपालिका–६ खरखरे भिरमा पहिरो खस्दा उक्त स्थानमा सवारी सञ्चालन हुनसकेको छैन ।