जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पत्रकारलाई कुटपिट गरेको आरोपमा विद्युत् प्राधिकरणका ७ कर्मचारी पक्राउ

पत्रकार कृष्ण आचार्यलाई कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका सात कर्मचारी पक्राउ परेका छन् । शुक्रबार कार्यालय परिसरमै मदिरा सेवन गरिरहेको भन्ने सूचनाका आधारमा समाचार सङ्कलन गर्न पुगेका आचार्यलाई कर्मचारीले कुटपिट गरेका थिए ।

कुटपिटको आरोपमा केन्द्रका सुपरभाइजर इलेक्ट्रिकल आनन्दबहादुर कुँवर, दिवछ शाह, सिनियर मिटररिडर हेमन्त ढकाल, फोरम्यान इलेक्ट्रिकल तुलसी देवकोटा, लेखापाल मञ्जिलमान श्रेष्ठ, मिटररिडर हेमशङ्कर चौधरी र लेखापाल हरि पौडेल पक्राउ परेका हुन् । पौडेल शुक्रबार राति नै पक्राउ परेका हुन् ।

उनीहरुलाई कानुनअनुसार कारबाही गर्ने गरी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

कार्यालय परिसरभित्रै मदिरा सेवन गरेर बसेका कर्मचारीले समाचारदाता आचार्यलाई कुटपिट गरी दुर्व्यवहार गरेका थिए । उनको हातमा चोट लागेको छ भने कपडासमेत च्यातिदिएका थिए ।

समूह नै मिलेर कुट्न थालेपछि बन्द भएको गेट नाघेर ज्यान जोगाएका थिए ।

आचार्यलाई ती कर्मचारीले कार्यलय परिसरभन्दा केही पर रहेको चितवन पोष्ट दैनिकको कार्यालयसम्म लखेट्दै लगेका थिए । उनलाई कर्मचारीले कुटपिट गरेपछि दुईवटा मोबाइल पनि नियन्त्रणमा लिएका थिए ।