जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

दुबईबाट काठमाडौं आएका यात्रुको लगेज चेकजाँच गर्ने क्रममा नाबालकले लगाउने कपडाको बटन नै सुन

दुबईबाट काठमाडौं आएका यात्रुको लगेज चेकजाँच गर्ने क्रममा नाबालकले लगाउने कपडाको बटन नै सुन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थिलमा दुबईबाट काठमाडौं आएका एक यात्रुको लगेज चेकजाँच गर्ने क्रममा १२५ ग्राम बराबर सुन फेला परेको छ ।

दुबईबाट आउनुभएको सुमन दमाईको लगेजमा नाबालकले लगाउने सिङ्गल पिस पोशाकको पाँच थानको टाँक (स्टिल बटन) भित्र लुकाईछिपाई राखिएको अवस्थामा ६० वटा सुनको रिङ फेला परेको हो ।
उक्त सुन फेला परेसँगै दमाईलाई भन्सार कार्यालयले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको छ ।

भिजिट भिषामा दुबई गएका दमाईले काम गर्ने अवसर नपाएपछि नेपाल फर्कने क्रममा दुवई एयरपोर्टमा अपरिचित व्यक्तिले आफन्तको बच्चाका लागि उपहार स्वरुप सो पोशाक नेपालसम्म पु-याइदिन अनुरोध गरेको बताउनुभएको छ । स्टिल बटनको भित्री भागमा फिट गरी राखिएको र झट्ट हेर्दा फलामको टुक्रा जस्तै देखिने किसिमको छ ।

एउटा धातुबाट अर्को धातु लुकाईछिपाई ल्याउँदा पहिचान गर्न कठिन हुन्छ भन्ने हिसाबले योजनाबद्ध ढङ्गबाट बटनभित्र सुन फिट गरी पठाएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि, यसमा क–कसको संलग्नता छ भन्ने थप कुरा अनुसन्धानबाट खुल्ने जनाइएको छ ।

यससँगै भन्सार कार्यालयले यात्रुलाई अपरिचित वा सामान्य परिचित व्यक्तिले ललाईफकाई कुनै मालवस्तु जस्तै : टर्च लाइट, आइरन, मिक्स्चर, रेडियो, स्पिकर, पानी तान्ने मोटर आदि आफन्तका लागि पु-याइदिन भनि अनुरोध गर्ने र चेकजाँचका क्रममा त्यसमा मालवस्तु फेला पर्ने गरेको जनाएको छ ।

त्यस्ता समानमा सुन, चाँदी वा अन्य अवैध वस्तु राखेको फेला परेपछि सम्बन्धित यात्रुले कानुन बमोजिम कारबाही भोग्नु परेको भन्दै भन्सारले सजग गराएको छ ।

त्यस्तो मालवस्तुमा अन्य कुनै अवैध वस्तु लुकाइएको छैन भन्ने सुनिश्चित नभएसम्म अरू कसैको मालवस्तु नलिन र नल्याउन सबै यात्रुहरूलाई भन्सार कार्यालयले अनुरोध गरेको छ ।