जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

थप १३५ जनामा कोरोना पुष्टि, ५९ जना संक्रमणमुक्त

पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप १३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४१ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ४७३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ सय १४ जना र १ हजार ५६८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २२ हजार ३३६ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या १४ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा १ हजार ४३९ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ५९ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६८ हजार १६ पुगेको छ । यसका साथै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १ को मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९५३ पुगेको छ ।