जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जिल्लास्तरीय रनिङ शिल्डको उपाधि माछापुच्छ्रे गाउँपालिकालाई

जन्मभुमि खबर ,
पोखरा ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकाले जिल्लास्तरीय रनिङ सिल्ड उपाधि जितेको छ ।

पोखरा रंगशालामा भएको प्रतियोगितामा समग्रमा १५ स्वर्ण, १४ रजत र १ कास्य पदकसहित माछापुच्छ्रे च्याम्पियन बनेको हो ।

यस्तै, पोखरा महानगरपालिका १४ स्वर्ण र ११ रजतसहित दोस्रो, अन्नपूर्ण गाउँपलिका १ स्वर्ण र २ कास्यसहित तेस्रो भयो । पुरस्कारस्वरुप माछापुच्छ्रेगाउँपालिकाले रनिङ सिल्डसहित १२ हजार, पोखराले ९ हजार र अन्नपूर्णले ५ हजार प्राप्त गरे ।

प्रतियोगितामा छात्र भलिबलतर्फ अन्नपूर्णले स्वर्ण जित्दा पोखरा महानगरले रजत र माछापुच्छ्रेले कास्य जितेको आयोजकले जनाएको छ । छात्रातर्फ भलिबलमा पोखरा महानगरले स्वर्ण, माछापुच्छ्रेले रजत र अन्न्पूर्णले कास्य जित्यो । कबड्डी छात्रतर्फ पोखराले स्वर्ण र माछापुच्छ्रेले रजत तथा छात्रा कबड्बडीमा माछापुच्छ्रेले स्वर्ण र पोखरा महानगरले रजत पदक जितेको छ ।

यस्तै, एथलेटिक्स छात्र र छात्रातर्फ माछापुच्छ्रेले स्वर्ण १४, कास्य १२, पोखरा महानगरले १२ स्वर्ण र रजत ९ वटा पदक जित्न सफल भए । अन्नपूर्णले समग्रमा ४ कास्य पदक जितेका छन् । एथलेटिक्स खेलमा १३ वटा इभेन्ट सम्पन्न भएको निर्णायक श्यामबहादुर श्रेष्ठले बताए ।

प्रतियोगितामा विजेता खेलाडी तथा टिमलाई राष्ट्रिय खेलकुद परिषद् बोर्ड सदस्य राजेशकुमार गुरुङ, अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णु केसी, उपाध्यक्ष चन्द्रा अधिकारी, शिक्षा महाशाखा प्रमुख बलराम भुगार्इं, क्षेत्रीय खेलकुद विकास समितिका निर्देशक कृष्ण तिमिल्सिना, गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नवीन गुरुङ, क्षेत्रीय खेलकुद विकास समितिका लेखा प्रमुख डिबी नेपाली, जिल्ला भलिबल संघका अध्यक्ष विष्णुबहादुर गुरुङ लगायतले नगद, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालको अध्यक्षतामा समापन समारोह भएको हो ।

राष्ट्रपति रनिङ सिल्डअन्तर्गत प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, उशु र कराते गरी ६ खेल भएका थिए । प्रतियोगिताबाट प्रदेशस्तरीय रनिङ सिल्डका लागि ८४ खेलाडीको छनोट गरिएको कार्यालय प्रमुख बरालले बताए । पोखरा यही असार २३ र २४ मा प्रदेशस्तरीय रनिङ सिल्ड हुँदैछ ।