जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

चार प्रदेशमा भारी वर्षाकाे सम्भावना, सतर्क रहन आग्रह

देशका पहाडी भूभागमा आजकाे माैसममा सामान्यदेखी पूर्ण बदली रहने र बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

गण्डकी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसमविदले जानकारी दिएका छन् ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले बिहान ६ बजे जारी गरेकाे सूचनामा उल्लेख छ ।

अहिले बिहान गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशको बाँकी भूभागमा आंशिकदेखि सामान्य बदलीकाे अवस्था छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका धेरै स्थानहरूमा अहिले पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।  महाशाखाका अनुसार एक–दुई स्थानमा भारी वर्षा समेत भइरहेको छ । बाँकी भूभागका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने आकलन गरिएकाे छ । राति देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

मुलुकका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन र यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे छ ।