जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गोर्खामा पहिरोले १२ घर पुरियो, ४० घर जोखिममा

आरुघाट गाउँपालिका–१ मान्बुस्थित श्याम्चेतमा पहिरोले १२ वटा घर पुरेको छ । बुधबार दिउँसोदेखि बुल्जुङ डाँडाबाट झरेको पहिरो श्याम्चेत तल्लो र माथिल्लो टोलको दायाँबायाँबाट बगेर बीचमा रहेको बस्तीको एउटा घर बगाएको छ भने १२ वटा पुरेको हो ।

पहिरोले ४० घर जोखिममा परेको स्थानीय कुमार लामाले बताए । तत्काल घरबाट मान्छेहरू उद्धार गरिएकाले मानवीय क्षति भने भएको छैन । पहिरो निरन्तर गइरहेकाले धेरै स्थानीय घर छाडेर सुरक्षित स्थानमा सरेका छन् । श्याम्चेत गाउँमा एक सय १३ घर छ ।

पहिरोले मनबहादुर लामाको घर बगाएको हो । केशबहादुर लामा, नरबहादुर लामा, भक्तबहादुर लामा, देउमाया लामा, मनबहादुर लामा, गोरे लामा, काजी लामा, मनबहादुर लामा (ख) फुलबहादुर लामा, काजी लामालगायतको घर पहिरोले पुरेको हो ।

स्थानीय महिला सञ्जालकी अध्यक्ष नरमाया लामाका अनुसार अहिले पनि बस्तीमा निरन्तर पहिरो गइरहेको छ । बुधबार साँझ ६ बजेतिर पहिरो बगेपछि स्थानीयको रुवाबासी चलेको उनले बताइन् । पशुवस्तु सबै घरभित्रै छाडेर गाउँले सबै सुरक्षित स्थानमा पुगेका छन् । श्याम्चेतमा यसअघि पनि पटक–पटक पहिरो बगेको थियो ।