जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गाउँ र सहर जोड्ने सडक पोखराको प्राथमिकतामा , ५५ करोड विनियोजन

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिकाका अधिकांश भूभाग ग्रामीण छन् । महानगरपालिका बन्दा नजिकका गाविसहरू गाभिएका थिए, जहाँ सडक पहुँच पुगेको छैन भने स्वास्थ्य र शिक्षा जस्ता आधारभूत पूर्वाधारसमेत पुगेका छैनन् ।

पोखरा महानगरपालिकाले सुरुदेखि नै गाउँलाई शहरसँग जोड्नका लागि पूर्वाधारको काम गरिरहेको छ । नयाँ बजेटबाट कनेक्टिङ सडक निर्माणलाई झन् बढी प्राथमिकतामा राखिएको छ ।

‘समुन्नत पर्यटकीय पोखराको दीर्घकालीन सोच पूरा गर्न पर्यटन, पूर्वाधारको निर्माण गर्न, सहर र गाउँ जोड्ने कनेक्टिङ सडक सम्पन्न गर्न र सहरी सडकको मर्मतलाई प्राथमिकता दिइएको छ,’ नयाँ बजेटमा भनिएको छ, ‘चालू वर्षमा सुरु भएका विभिन्न सडकलाई पूरा गर्ने गरी बजेट छुट्याइएको छ ।’

चालू वर्षमा सुरु भएका १५ वटा कनेक्टिङ सडक, १० वटा सहरी सडक र १५ वटा ग्रामीण सडकलाई क्रमागत योजनाका रूपमा काम गर्न ५५ करोड विनियोजन गरिएको छ ।

यस्तै, सहरी क्षेत्रको खाल्डो पुर्ने कामका लागि १५ करोड छुट्याइएको छ भने तालचोकदेखि बेगनास खण्डको स्तरोन्नति पूरा गर्ने महानगरका मेयर धनराज आचार्यले बताए ।