जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकीमा ७० प्रतिशत रोपाइँ

असारको महिना सकिन लाग्दा गण्डकी प्रदेशमा रोपाइँ आधाभन्दा बढी सकिएको छ । कृषि विकास निर्देशनालय, गण्डकीका अनुसार मङ्गलबारसम्म प्रदेशमा ७० प्रतिशत रोपाइँ सकिएको छ । निरन्तर परिरहेको आकाशे पानी र सिँचाइको प्रयाप्त सुविधा हुँदा अघिल्लो वर्षको तुलनामा भन्दा अहिले बढी रोपाइँ भएको कृषि विकास निर्देशनालय, गण्डकीका निमित्त प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो ।

उहाँले समयमै रोपाइँ हुँदा यस वर्ष धान उत्पादन बढी हुने अनुमान गर्नुभयो । यो पटक मनसुनले पनि साथ दिएकाले धान उत्पादन बढ्ने उहाँको भनाइ छ तर पनि बेलैमा किसानले मल नपाउँदा उत्पादनमा असर गर्ने उनको भनाइ छ । अन्य प्रदेशमा धान लगाउनेबित्तिकै रोगको समस्या देखिए पनि गण्डकीमा कुनै समस्या नदेखिएको उहाँले सुनाउनुभयो ।

गण्डकीमा धानखेती हुने क्षेत्रफल एक लाख एक हजार हेक्टर रहेको उहाँले जानकारी दिनुभयो । गण्डकीका ११ जिल्लामध्ये हिमालपारिका जिल्लाहरू मनाङ र मुस्ताङमा धानखेती हुँदैन । म्याग्दीको अधिकांश क्षेत्र हिमाली क्षेत्रमा पर्ने भएका कारणले कम मात्रामा मात्रै धान उत्पादन हुन्छ । प्रदेशअन्तर्गत कास्कीमा सबैभन्दा बढी ८० प्रतिशत रोपाइँ सकिएको छ ।

यहाँ ठूलीबेँसी, आर्व, पामे, लाहाचोक, लेखनाथलाई धानको पकेटक्षेत्र मानिन्छ । कास्कीपछि सबैभन्दा बढी रोपाइँ भएको नवलपुरमा हो । नवलपुरमा ७० प्रतिशत रोपाइँ सकिएको छ । यस्तै बागलुङमा ६५, म्याग्दीमा ४०, स्याङ्जामा ६१, पर्वतमा ४२, तनहुँमा ४५ र लमजुङमा ६२ प्रतिशत रोपाइँ पूरा भएको कृषि विकास निर्देशनालय गण्डकीले जनाएको छ ।

निमित्त प्रमुख रेग्मीका अनुसार जिल्लाहरूबाट प्राप्त तथ्याङ्क असार २२ गतेसम्मको हो । “हप्ता हप्तामा जिल्लाहरूबाट तथ्याङ्क आउने गर्छ । जिल्लाहरूमा बाँकी रोपाइँ भइरहेको छ । यो बुधबारसम्म ७० प्रतिशतसम्म हुने अनुमान गरिएको छ । केही ठाउँमा पछिल्लो समय पानी नपर्नाले रोपाइँ रोकिएको छ,” उहाँले भन्नुभयो । यस वर्ष देशमा ९५ प्रतिशतसम्म रोपाइँ हुने उहाँको अनुमान छ । उहाँका अनुसार गत वर्ष यस अवधिमा ५५ प्रतिशत मात्र रोपाइँ भएको थियो । गण्डकीमा तीन लाख मेट्रिक टन धान फल्ने रेग्मीले बताउनुभयो ।

प्रदेशमा चामलका लागि बाहिरी जिल्लाकै भर भए पनि पछिल्लो समय धानखेतीमा किसान आकर्षित भइरहेको उहाँले सुनाउनुभयो । उहाँका अनुसार यस प्रदेशमा सामा मनसुली, हाइब्रेड, जेठोबूढो, एक्ले, राम, सावित्री, पहेँले धान उत्पादन हुने गरेको छ ।