जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकीका मुख्यमन्त्रीको प्रष्टोक्ति : बजेट नेताका आफन्तलाई होइन, संस्थालाई दिएका थियौँ

जन्मभुमि खबर ,
पोखरा ।

नेपाली कांग्रेसको जारी केन्द्रीय कार्य समिति बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले व्यक्तिलाई नभइ संस्थालाई नै बजेट दिने निर्णय भएको बताएका छन् ।

मुख्यमन्त्री पोखरेल र अन्य केही मन्त्रीले आफ्ना आमाबुवा र नातेदारको नामका स्मृति प्रतिष्ठानहरुलाई प्रदेश सरकारबाट लाखौँ बजेट छुट्याएपछि चर्को आलोचना भएको थियो।

यसैलाई लिएर कांग्रेसभित्र पनि विरोध भएपछि मुख्यमन्त्री पोखरेलले आफ्नो बचाउ गरेका हुन् ।

कांग्रेसको बैठकमा शनिबार बोल्दै उनले नेताहरुको नाममा विनियोजित रकम कुनै व्यक्तिमार्फत नभइ संस्थामार्फत खर्च गर्न लागिएको तर्क गरेका थिए।

‘आफन्तहरुको नाममा बजेट विनियोजन गरेको भन्ने अर्थ लगाइयो। तर के थियो भने नेताहरुको नाममा विनियोजित रकम कुनै व्यक्तिलाई होइन कि संस्थामार्फत कुनै कार्यक्रममा खर्च गर्नका लागि हो’, उनले बैठकमा भने।

पोखरेलले पाँच दलीय गठबन्धन खतरामा परेको लोकतन्त्र बचाउन भएको उल्लेख गर्दै अब आवश्यक भए नभएको समीक्षा हुनुपर्ने तर्क गरे।

‘गठबन्धन भनेको कुनै एक समय थियो जति बेला लोकतन्त्रमाथिको खतरासँग मुकाबिला गर्नका लागि थियो’, उनले भने, ‘आज पनि त्यो खतरा भए गठबन्धन गर्नुपर्छ। भोलिका दिनमा गठबन्धन गर्दा विशेष ध्यान पुर्‍याउन सके पार्टीलाई लाभ पुग्छ।’

पोखरेलले भ्रातृ संगठनमा देखिएको अव्यवस्था तत्कालीन सभापति सुशील कोइरालाको पालामा जस्तै भएको बताउँदै अब विलम्ब गर्नु नहुने तर्क गरे।

बैठकमा कांग्रेस नेतृ सीता गुरुङले समग्रमा गठबन्धनले पार्टीलाई फाइदा भएको बताउँदै अहिले पनि त्यसको औचित्य रहेको उल्लेख गरेकी छन्।