वर्षाले पोखराको सुइँखेत फाँट डुबानमा, १५ घरमा पहिरोले क्षति, ६ सय घर प्रभावित
जन्मभुमि खबर ,
पोखरा ।
गएराति भारी वर्षाका कारण पोखरा महानगरपालिका वडा २५, हेमजाको सुइँखेत फाँटका घरहरु डुबानमा परेका छन् । पहिरोले घर क्षतिग्रस्त हुँदा र डुबानका कारण मानिसहरु विस्थापित हुन बाध्य छन् ।
पोखरा २५ का वडाध्यक्ष मोतीराज तिमिल्सिनाले भारी वर्षाका कारण त्यसक्षेत्रका करिब ६ सय घर प्रभावित भएको बताए । उनले भने, ‘यहाँका करिब १५ घर पहिरोले क्षतिग्रस्त छन् । २ वटा घर पूर्ण रुपमा क्षति भएको छ । म्याग्दीचोकदेखि सुन्दरपुरी टोलसम्मको पूरै बस्ती जोखिममा छ ।’
केही ठाउँमा खसेको पहिरोसँगै ठाडो खोलामा आएको बाढीले म्याग्दीचोकमा २ घर पूर्ण रुपमा क्षति भएका हुन् । वडा सदस्य सुवास भण्डारीका अनुसार लक्ष्मी बिकको पक्की घरको पर्खाल भत्किएको छ । त्यस्तै हालैमात्र निर्माण सम्पन्न भई सामान सार्दै गरेको अर्को पक्की घर पनि भत्किएको हो । त्यस क्षेत्रको चौरासी नहरको ड्याम फुटेको छ ।
सुइँखेत खोलामा आएको ठूलो बाढीले निकास नपाउँदा फाँटका घरहरु डुबानमा परेका हुन् । घरगोठ र कृषि फर्महरु बाढीले डुबानमा परेका छन् । घरभरि माटोले भरिएको छ । बाढीले बाख्राहरु मरेका छन् । कति क्षति भयो भन्ने विवरण संकलन भइरहेको छ ।
राति ११ बजेतिर भीषण वर्षाका कारण बस्तीमा बाढी छिरेपछि स्थानीय घर छोडेर आफन्त तथा छिमेककोमा सुरक्षित ठाउँमा ओत लाग्न गएका थिए ।
यसैबीच, पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले त्यस क्षेत्रको शनिबार बिहान अवलोकन गरेकी छन् ।