लुम्ले, चन्द्रकोट हुँदै लान्द्रुक जाने सडक ३ दिनदेखि अवरुद्ध
वर्षासँगैको पहिरोले लुम्ले, चन्द्रकोट हुँदै लान्द्रुक जाने सडक ३ दिनदेखि अवरुद्ध छ । सो सडकखण्डअन्तर्गत भिचुकदेखि तोल्का बीचको घट्टेखोला तथा तोल्का र आलुखोरबीचमा पर्ने घिरसिंह खोलामा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो ।
सडक बन्द भएसँगै त्यहाँबाट वडा कार्यालय लगायत पोखरा आउजाउँ गर्न स्थानीयलाई सकस भएको छ । पहिरोको मंगलबार वडाध्यक्ष भरतमान गुरुङसहित गाउँपालिकाका इञ्जिनियरको टोलीले अवलोकन गरेको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–७, तोल्का, डिलगराका प्रेमबहादुर थापामगरको परिवार पहिरोका कारण विस्थापित भएको छ ।
शनिबार रातिको भारी वर्षासँगै घरमाथिबाट खसेको पहिरोले उनका घरमा क्षति पुगेपछि परिवार बारीमा त्रिपाल सहारामा बस्न बाध्य छ । स्थानीय कोलडाँडाबाट पर्से सार्कीको बारी भत्केर आउँदा उनको घर पछाडिको भाग पुरिएको हो । अझै पनि त्यहाँ पहिरोे जाने सम्भावना उच्च छ ।
मगर परिवारले यतिबेला नातामा साला पर्ने तिलबहादुर थापामगरको बारीमा आश्रय लिएका हुन् । उनको परिवारलाई रेडक्रसले २ थान त्रिपालसमेत उपलब्ध गराएको छ ।