जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मादी गाउँपालिको बजेट ६५ करोड, बाँदर र भालु लखेट्न १२ लाख, घोडा किन्नलाई १५ लाख

जन्मभुमि खबर ,
पोखरा।

कास्कीको मादी गाउँपालिकाले बाँदर र भालु जस्ता जंगली जनावरले सास्ती दिएपछि बजेटमा नै व्यवस्था गरेको छ । मंगलबार कास्कीको मादी गाउँपालिकाले ल्याएको २०७९/०८० बजेटमा १२ लाख रुपैयाँ विनियोजन गरेको छ ।

गाउँपालिका उपाध्यक्ष कल्पना गुरुङले मंगलबार ११ औं गाउँसभामा प्रस्तुत गरेको बजेटमा घोडा किन्नका लागि १५ लाख रुपैया विनियोजन गरेको छ । पालिकाको उपल्लो भागको पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरी आन्तरिक तथा बाह्य पर्यटनको आकर्षण केन्द्र बनाउन स्थानीय सँगको ५०/५० प्रतिशत साझेदारीमा घोडा खरिदको लागि १५ लाख विनियोजन गरिएको छ ।

पालिकाले आगामी आर्थिक वर्षका लागि ६५ करोड ४८ लाख ८० हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ । बजेटमा आर्थिक विकासतर्फ ५ करोड ४२ लाख ४० हजार, सामाजिक विकासतर्फ ३२ करोड ८८ लाख ६० हजार, पूर्वाधार विकासतर्फ १४ करोड २५ लाख, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ८५ लाख ७० हजार र सुशासन तथा संस्थागत विकासतर्फ १२ करोड ७ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

कुल बजेटको स्रोतमा संघीय सरकार वित्तीय समानिकरणबाट ९ करोड, ६२ लाख, संघीय सरकार सशर्त अनुदान २९ करोड ९२ लाख, संघीय सरकार विशेष अनुदान १ करोड, सरकार बाँडफाँट प्राप्त राजस्व १० करोड ३ लाख र संघीय सरकार बाँडफाँट भई प्राप्त हुने रोयल्टी १ करोड ६ लाख ४० हजार रहेको छ ।

यसैगरी, गण्डकी प्रदेश सरकार वित्तीय समानीकरण अनुदान १ करोड ४ लाख ९५ हजार, प्रदेश सरकार राजस्व बाँडफाँट ८१ लाख २२ हजार, पिएलजीएसपि तथा अन्य सशर्त अनुदान चालु कार्यक्रम ६ लाख, सडक बोर्ड अनुदान ५० लाख, आन्तरिक, आय रोयल्टी तथा अघिल्लो आर्थिक वर्षको समेत ९ करोड ४८ लाख ६४ हजार बजेटको स्रोत अनुमान गरिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा ६२ करोड २२ लाख ४० हजार बराबरको बजेट ल्याएको थियो ।