जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मंकीपक्सको आशंका गरिएका व्यक्तिमा कुष्ठरोग पुष्टि

मंकीपक्सको आशंका गरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका व्यक्तिमा कुष्ठरोग भएको पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले ती व्यक्तिमा मंकीपक्स नभई कुष्ठरोग भेटिएको पुष्टि गरिन्। दुबईबाट नेपाल आएका २६ वर्षीय एक पुरुषमा मंकीपक्सको आशंका गरिएपछि शुक्रराज अस्पतालमा भर्ना गरिएको थियो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीले विभिन्न ६ ठाउँबाट स्लीट स्कीन स्मेयर जाँच गर्दा आँखा र कानको तीन वटा नमुनामा कुष्ठरोगको जिवाणु भेटिएको मन्त्रालयले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हेल्थ डेस्कमा परीक्षणका क्रममा उनमा मंकीपक्सको शंकास्पद लक्षण देखिएपछि टेकु लगिएको थियो।

हालसम्म विश्वका २९ देशमा मंकीपक्स देखा परेको र एक हजारभन्दा बढी संक्रमित भइसकेका छन्। नेपालमा अहिलेसम्म मंकीपक्सको कुनै पनि संक्रमण पुष्टि भएको छैन। विश्वव्यापी रुपमा बढ्दै गएको मंकिपक्सको संक्रमण बारे सचेत र सतर्क अवस्थामा रहेको मन्त्रालयले जनाएको छ।