जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बिरामी बोक्ने एम्बुलेन्सले यात्रु बोकेपछि कारबाहीमा

बिरामी बोक्ने एम्बुलेन्सले यात्रु बोकेपछि कारबाहीमा परेको छ। जिल्लाको रामपुर अस्पतालको बा२झ १७४३ नंको एम्बुलेन्सले यात्रु बोकेको फेला परेपछि ट्राफिक कारबाहीमा परेको हो।

एम्बुलेन्सले प्रभासबाट रामपुरतर्फ चार जना यात्रु लिएर जाँदै थियो। भाडामा यात्रु बोकेको शङ्का लागेपछि सोधपुछ गर्दा पुष्टि भएपछि पहिलोपटक रु एक हजार जरिवाना गरी छाडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले बताए।

एम्बुलेन्स चालकले प्रभासबाट रामपुरसम्मको एक यात्रुको रु ६२५ का दरले रु दुई हजार ५०० भाडा असुलेको बुझिएको छ। यो भाडादर प्रचलितभन्दा बढी पनि हो।

अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकालले यात्रु बोकेको सन्दर्भमा छानबिन गरिने बताएका छन्। “उपचार गरेर फर्केका बिरामी नै लिएर आएको भन्ने छ तैपनि बिरामी बोक्ने एम्बुलेन्सले यात्रु नै बोकेको भए दोषीलाई कारबाही हुनेछ”, उनले भने।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९  को दफा १२ मा कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अन्य प्रयोजनको निम्ति प्रयोग गर्न नहुने भनिएको छ। यस्तै राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ मा एम्बुलेन्सलाई बिरामी ओसारपसार गर्नेबाहेक अन्य काममा प्रयोग गर्न नपाइने स्पष्ट कानूनी व्यवस्था छ। रासस