जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा १७ औ असारे रोपाई महोत्सवको तयारी पूरा

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा पर्यटन परिषदको आयोजनामा हुदै आएको रोपाई महोत्सव यस वर्ष पोखरा २५ हेम्जामा हुने भएको छ ।

पोखरा २५ टमाइस्थानमा रहेको करिब १० रोपनी क्षेत्रफलमा १७ औ असारे महोत्सव गर्न लागेका पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईलाई सोमबार आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिए ।

हेम्जाका तुलसी पौडेल, अग्निधर पौडेल, डिल्लिराम नेपाली, कृष्ण बहादुर कुबर, मैना केसी र प्रकाश पौडेलको खेतमा परिषद्ले रोपाई महोत्सव गर्न लागेको बताए । ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारा सहित नेपाल सबै सिजनमा ट्राभल गर्न उपयुक्त छ भन्ने सन्देश दिन महोत्सव मनाउन लागिएको अध्यक्ष भट्टराईले बताए । सहरमा बस्ने नयाँ पुस्तालाई खेती प्रणालीका बारेमा जानकारी दिनपनि महोत्सव फलदाई हुने उनले बताए ।

उनले खेती योग्य जमिनको संरक्षण, कृषिलाई व्यावसायीकरण गर्दै कृषकलाई आफ्नो पेशाप्रति अभिप्रेरित गर्न पनि महोत्सव आवश्यक रहेको बताए । रोपाइँ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको उनको भनाई छ ।

रापाई महोत्सवमा साउने प्रतियोगिता, हल गोरुको दौड, हिलोमा माछा समात्ने प्रतियोगिता, दौड, असारे गीत तथा रोपाइँ प्रतियोगिता, नेपाली र विदेशीलाई हिलोमा दौड प्रतियोगिता, उत्कृष्ट कृषक सम्मान लगाएतका कार्यक्रमहरु हुने १७ औ असारे रोपाई महोत्सवका संयोजक तथा परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए ।

साउने प्रतियोगिता, असारे रोपाई र तीन प्रतियोगिताको प्रथम र दोस्रो हुनेले क्रमस ७ हजार र ५ हजार रुपैया पुरस्कार, प्रमाणपत्र र ट्रफी प्रदान गर्ने श्रेष्ठले जानकारी दिए । महोत्सव सम्पन्न गर्न करिब २४ लाख ५० हजार खर्च लाग्ने आयोजक अनुमान छ । महोत्सवमा ५ सय विदेशी सहित करिब १० हजारले महोत्सव अवलोकन गर्ने आयोजकको दावी छ ।