जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पाेखराकाे ‘फूलबारी रिसोर्ट’ लिलामीमा

जन्मभुमि खबर ,
पोखरा ।

ऋण लिएर वर्षाैंसम्म नतिरेपछि पोखरामा रहेको पाँचतारे डिलक्स होटल दि फूलबारी लिमिटेड लिलामीमा चढेको छ । सहवित्तीयकरण कर्जाअन्तर्गत अगुवा नेपाल बैंकले होटल तथा होटलले चर्चेको र लिखित तमसुक गरेको जग्गा बिक्री गरेर ऋण असुली गर्ने प्रक्रिया अघि बढाएको हो ।

होटल अहिले बन्द छ । होटलका संरचना खण्डहर बन्न लागेका छन् । बैंकले जग्गा भवनलगायत अन्य चलअचल सम्पत्ति लिलामी गर्नका लागि ३५ दिने सूचना प्रकाशित गरेको छ । इच्छुक लगानीकर्ताले ३५ दिनभित्र शिलबन्दी बोलपत्र पेस गर्न बैंकले अनुरोधसमेत गरेको छ । धेरै पटक प्रयास गर्दा पनि ऋण नतिरेकाले लिलामीको प्रक्रिया अघि बढाएको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले बताए । ३५ दिनभित्र होटलले ऋण तिरेर आफ्नो सम्पत्ति फिर्ता लैजान पाउने उनले बताए । धेरै पुरानो ऋण भएकाले अब पर्खन नसक्ने उनको भनाइ छ ।

होटलले नेपाल बैंकका साथै तत्कालीन नेपाल औद्योगिक विकास निगम ( हाल राष्ट्रिय वाणिज्य बैंक) र कर्मचारी सञ्चय कोषबाट लिएको ऋण र सोको सावाँ र ब्याज गरी ३ अर्ब ५० करोड रुपैयाँ तिर्न बाँकी छ । होटलका सञ्चालक पीयुषबहादुर अमात्यले कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण सम्झौताको सर्तहरुसमेत पालना नगरेकाले होटल लिलामी गर्नुपरेको सीईओ अधिकारीले स्पष्टपारेको छ । तिर्ने सर्तमा धेरै पटक ऋणको पुनरसंरचना र पुनर्तालिकीकरण गरिएको उनले सुनाए ।

बैंकले पोखरा महानगरपालिका–१५ मा रहेको होटल तथा होटलले चर्चेको १२४ रोपनी जग्गा, सञ्चालक पीयुषबहादुर अमात्यको नाममा रहेको ६ रोपनी र गंगा अमात्यको नाममा रहेको ७ रोपनी ७ आना जग्गा लिलामी गरेर ऋण असुली गर्ने बैंकले जनाएको छ । साउन ४ गतेभित्र शिलबन्दी बोलपत्र पेस गर्नुपर्ने बैंकले जनाएको छ । रिसोर्ट ४ सय रोपनी जग्गामा फैलिएको छ । रिसोर्टमा १६५ कोठाहरु छन् ।

२०५३ सालमा नेपाल बैंकको अगुवाइमा एनआईडीसी र सञ्चय कोषले रिसोर्टमा १ अर्ब ३१ करोड रुपैयाँ ऋण लगानी गरेका थिए । नेपाल बैंकले ६५ करोड, एनआईडीसीले ३५ करोड रुपैयाँको ऋण लगानी गरेका थिए । बाँकी रकम सञ्चय कोषले लगानी गरेको थियो । अमात्य ग्रुपको लगानी रहेको रिसोर्ट सञ्चालन हुने बेला मुलुक माओवादी द्वन्द्वमा फस्यो । विदेशबाट पर्यटक आउन बन्द भएपछि आम्दानी भएन र उसले ऋण तिर्न सकेन । २०५८ सालको दरबार हत्याकाण्ड र ऋतिक रोशन काण्ड र भारतीय विमान अपहरण जस्ता ठूला काण्डले गर्दा नेपालमा पर्यटक आउने संख्या घटेपछि होटलले कमाउन सकेन् र ऋण पनि तिर्न असफल भयो ।