नागरिकता विधेयक अघि बढाउने सत्तारुढ दलको निर्णय
सत्ता गठबन्धनको बैठकले नागरिकता विधेयक अघि बढाउने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सत्ता गठबन्धनका दलहरू यो विधेयक अघि बढाउन सहमत भएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज (बुधबार) गठबन्धन दलको बैठक बसेको थियो ।
मन्त्री कार्कीले बाबु र आमा नेपाली नागरिक तर उसका सन्तान नागरिकताविहीन रहेको अवस्थाले समाजमा पीडा दिएको भन्दै त्यसबाट छुटकारा दिनु राज्यको कर्तव्य भएको बताए । उनले नागरिकताको विधेयक अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवाले नै प्रस्ताव गरेको पनि जानकारी दिए ।
२०७५ साउन २२ मा यो विधेयक संसद् सचिवालयमा दर्ता र साउन २८ मा प्रतिनिधिसभामा प्रस्तुत गरिएको थियो ।