जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तीन मतले चुनाव हारेपछि पोखरा-१८ का वडाध्यक्ष पदका उम्मेद्वार पुष्कलबहादुर थापाद्धारा मुद्धा दर्ता

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिका १८ को वडाध्यक्षमा तीन मतले चुनाव हारेपछि एमालेका उम्मेदवार पुस्कलबहादुर थापाले मुद्दा दर्ता गर्नुभएकाे छ ।

थापाले मतगणनाका क्रममा चुनावमा खसेको मत भन्दा ९ मत कम भएको भन्दै त्यसको खोजी गरिदिन मुद्दा दर्ता गर्नुभएकाे हाे । उहाँले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृत र नवनिर्वाचित वडाध्यक्षलाई विपक्षी बनाएर मुद्दा दर्ता गर्नुभएकाे छ ।

यो वडामा नेपाली कांग्रेसका शिव तिमिल्सिनाले तीन मत अन्तरले चुनाव जित्नुभएकाे थियाे । पाँच हजार आठ सय ४३ मतदाता रहेकामा चुनावमा चार हजार तीन सय ४८ मत खसेको थियो । गणनाका क्रममा चार हजार तीन सय ३९ मत मात्र भेटिएको थियो । मतपत्र सर्टिङ गर्ने क्रममा नै नाै मत गायब पारिएको थापाको आरोप छ ।

थापाले गणना सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा फेरि गणनाको मागसहित निवेदन दिनुभएकाे थियाे । तर फेरि गणना हुन सकेन । हार/जित स्वाभाविक भएकाे भन्दै उहाँले सत्य/तथ्य छानबिन गरेर फेरि मतगणनाको माग गर्नुभएकाे छ ।