गण्डकी प्रदेश सहित केहि प्रदेशका मेघ गर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना
अहिले प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा सामान्य पानी परिरहेको छ ।
अहिले नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको र त्यसैको प्रभावले देशका सबैजसो ठाउँमा बादल लागेर केही ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित सामान्य पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, राति यीनै चार प्रदेशका थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।
यसैबीच यस वर्षको मनसुनी प्रणाली पनि नजिक आउन थालेको छ । भारतका धेरै ठाउँमा सक्रिय भएको मनसुन नेपालतर्फ सर्ने क्रममा चेन्नेई पार भइसकेको र जुन १० अर्थात जेठ २७ गतेभन्दा अघि नै नेपाल आइपुग्ने सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । गएको वर्ष जेठ २८ गते मनसुनी प्रणाली नेपाल प्रवेश गरेको थियो।