इन्धनमा भएको मूल्य वृद्धिको विरोध गर्दै पोखरामा विद्यार्थीद्वारा सडकमै चिया पकाएर विरोध
जन्मभुमि खबर ,
पोखरा ।
इन्धनमा भएको मूल्य वृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले पोखरामा विरोध प्रदर्शन गरेको छ । पृथ्वीनारायण क्याम्पस कमिटिले क्याम्पस गेट अगाडि सडकमै चिया पकाएर खाई रचनात्मक विरोध गरेको हो ।
यस्तै, विरोध प्रदर्शनका क्रममा अखिलमाथि प्रहरीले गरेको धरपकडको विरोधमा मुखमा कालो टेप बाँधी सांकेतिक विरोध पनि गरेको छ । प्रदर्शनकारीहरूले ‘गठबन्धनको उपहार, महँगी र भ्रष्टाचार’, ‘अनियमितता र भ्रष्टाचार, देउवा सरकारको उपहार’ जस्ता नारा लगाएका थिए ।
सरकारले अविलम्ब पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नलिए आगामी दिनमा विरोधका कार्यक्रम थप सशक्त बनाउँदै जाने चेतावनीसमेत उनीहरूले दिएका छन् ।
निगमका कर्मचारी, सरकारी कर्मचारी र मन्त्री तथा सांसदहरूलाई सेवा, सुविधा थप गर्न सरकार लागिपरेको भन्दै उनीहरूले आयल निगम घाटामा नभएको र सरकारले मनलाग्दी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको बताए ।
प्रदर्शनमा बोल्दै क्याम्पस कमिटि अध्यक्ष विष्णु पोखरेलले सरकारले नागरिकलाई राहत दिनुको साटो निरन्तर मूल्य वृद्धि गरेर जनताको ढाड सेकेको आरोप लगाए ।
केन्द्रीय सदस्य अनुप लामिछानेले राज्यले जनतामाथि परिरहेको संकटको बेलामा अभिभावकत्व लिनुपर्ने बेलामा गठबन्धन सरकार मौन बस्दै जनतालाई पीडामाथि पीडा थपिरहेको बताए ।
नेपाल आयल निगमले आइतबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको थियो । पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरी १९९ रुपैयाँ पुगेको छ । यसैगरी डिजेल र मट्टितेलमा २७ रुपैयाँले वृद्धि हुँदा १९२ रुपैयाँ पुगेको छ । एलपी ग्याँसको मूल्य हाल प्रतिसिलिण्डर एक हजार ८ सय रुपैयाँ छ ।