जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आँबुखैरेनीमा बाटो भासिनु र यात्रुले ज्यान गुमाउनु सडक विभागको लापरबाही – गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले सडक विभागको लापरबाहीले पृथ्वी राजमार्गस्थित तनहुँको आँबुखैरेनीमा बाटो भासिँदा दुई यात्रुले ज्यान गुमाउनुपरेको बताएका छन्।

गृह मन्त्रालयमा सोमबार बसेको विपद् कार्यसमिति बैठकमा बोल्दै गृहमन्त्री खाँणले सडक विभागको लापरबाहीकै कारण दुई नागरिकले ज्यान गुमाउनुपरेको जिकिर गरे।

उनले उक्त सडक भासिने कुरा सडक विभागलाई पहिल्यै जानकारी रहेको भन्दै सडक चर्किसक्दासमेत हेलचेक्र्याइँ गरेको आरोप लगाए।

गृहमन्त्री खाँणले नेपाल भूबनावटका कारणले विपद्को उच्च जोखिममा रहेको बताउँदै राज्यका सबै निकायले विपद्का घटनाबाट जोगिन समन्वयात्मक भूमिका निर्वाह गर्न आवश्यक रहेको बताए।

उनले प्रविधिसँगै रेडियो, टिभीबाट विपद्को जोखिमका सूचना कम प्रवाह हुने गरेको बताए।

गृहमन्त्री खाँणले जोखिमसम्बन्धी पूर्व सूचना प्रशारणका कामलाई राष्ट्रव्यापी बनाउनुपर्ने बताए। गृहमन्त्री खाँणले विपद्लाई व्यवस्थापन गर्ने र विपद्लाई ह्याण्डिल गर्ने क्रममा स्थायी रुपमा नै सूचना प्रशारणको सिस्टम विकास गर्नुपर्ने बताए।

‘विपद सुरु भएपछि मात्रै व्यवस्थापनबारे चर्चा हुन्छ। त्यसबेला धेरै ढिलो भइसकेको हुन्छ। नेपाल भूबनावटका कारणले विपद्को उच्च जोखिममा नै छौँ। राज्यका सबै निकायहरुले कसरी सामना गर्ने भनेर सोच्नुपर्छ’, उनले भने, ‘आफ्नो आफ्नो तयार त गरिरहेको छ तर समूहमा कसरी समस्याबाट जोगाउने भन्ने कुरा सोच्न आवश्यक छ। केही दिनअघि मात्रै पोखरा–मुग्लिन पृथ्वी राजमार्गमा बाटो भासियो। त्यो बाटो भासिन्छ भन्ने सडक विभागलाई पहिला नै थाहा थियो रे! पक्की रोड क्र्याक भइसकेको थियो रे! चर्केको रिपोर्ट आएन वा होइन चल्छ भन्ने भयो। सानो गाडी र केही मानिस त्यहाँ हताहत हुनुभयो। नागरिकको जिउधनको रक्षा गर्ने दायित्व राज्यको हो तर पनि सकिएन।’

उनले अहिले पनि त्यहाँ जाम भइरहेको बताए। बाटो अवरुद्ध छ भन्ने कुराको जानकारी गराउन पनि उनले आग्रह गरे। ‘पहिला यस्ता सूचना, रेडियो, टिभीमा आउने गर्दथे, ट्राफिकसँग एफएमको सहकार्य, समन्वय हन्थ्यो। प्रविधिसँगै त्यो कार्य कम भएको देख्दैछु’, उनले भने, ‘यसले झनै जनतालाई सूचनाबाट वञ्चित गराएको छ। यसबाट जनताले सूचना पाउँछन्, यो कार्य राष्ट्रव्यापीरुपमा अघि बढाउन आवश्यक छ।’

गृहमन्त्री खाँणले विपद् व्यवस्थापनमा आफूसँग सम्बन्धित विपद् न्यूनिकरणका दीर्घकालीन योजना र अल्पकालीन योजना सम्बन्धित विभाग र मन्त्रालयलाई साँझ ५ बजेसम्म उपलब्ध गराउन निर्देशनसमेत दिए।

उनले यो वर्ष निर्धारित गरेको बजेट र त्यसको पूर्व तयारीमा विपद् सम्बन्धी निकाय र मन्त्रालयहरु कसरी अघि बढ्ने योजना छ भन्ने लिखित योजना पेस गर्न निर्देशन दिए।

‘मन्त्रालय र सम्बन्धित विभागले आज बेलुका ५ बजेभित्र दुई वटा काम गर्नुहोला। एउटा विपद्का व्यवस्थापनमा हामीसँग सम्बन्धित विभाग वा मन्त्रालयसँग सम्बन्धित विपद् न्यूनिकरणका दीर्घकालीन योजना के छन्? र तत्काल यो वर्ष आउने विपद्को सामना गर्न तयारी के छ? के के छन्, सामानहरु त्यो लेखेर दिनुहोस्’, उनले भने, ‘विपद् व्यवस्थापन सम्बन्धित मन्त्रालयको दीर्घकालीन योजना के छ? र यो वर्ष निर्धारित गरेको बजेट र त्यसको पूर्व तयारीमा हामी कसरी अघि बढ्दैछौँ ? विभागले पनि दिनुहोला, आधा दीर्घकालीन, आधा आपत्कालीन।’