जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अन्नपूर्ण केबलकारको समयमा परिवर्तन

जन्मभुमि खबर,
पोखरा ।

सेदी बगरदेखि सराङकोटसम्म सञ्चालनमा रहेको अन्नपूर्ण केबलकारले सेवा दिँदै आएको समयमा परिवर्तन गरेको जनाएको छ । झुल्केघाम हेर्न जाने यात्रुलाई लक्ष्य गर्दै बिहान दिँदै आएको सेवा मौसमका कारण असार १ गतेदेखि भदौमसान्तसम्मका लागि स्थगित गरेको केबलकारले जानकारी दिएको छ ।

बिहान ५ बजेदेखि ९ बजेसम्म सनराइज हेर्न जाने यात्रुलाई लक्ष्य गरी दिइँदै आएको सेवामात्र वर्षाका कारण मौसममा समस्या देखिएकाले भदौ मसान्तसम्मका लागि स्थगित गरिएको हो । बिहान ९ बजे पछि भने केबलकार सधैँजस्तै दैनिक सञ्चालनमा रहने पनि सो कम्पनीले जानकारी दिएको छ । मौसम खुलेसँगै केबलकारमा चढेर सनराइज हेर्ने सेवा आगामी असोज १ गतेदेखि पुन सञ्चालनमा आउने बताइएको छ ।

पर्यटकीय नगरी पोखरा उपत्यकाको पश्चिम उत्तरी भागको फेवा किनारको सेदी बगरबाट अन्नपूर्ण केबलकार चढेर आगन्तुकहरुले खुला मौसममा विभिन्न हिमाली शृंखलासँगै सूर्याेदयको मनोरम दृश्यको आनन्द लिन पाउँछन् । अन्नपूर्ण, माछापुच्छ्रे लगायत हिमाली शृंखलाको आनन्द लिँदै केबलकार परिसरबाट पोखरा सहर, फेवाताल, शिव प्रतिमा, विश्व शान्ति स्तूप लगायतका दृश्य पनि हेर्न सकिन्छ । केवलकारको बटम स्टेसन समुद्री तहदेखि ८२४ मिटरको उचाइमा र टप स्टेशन १५२३ मिटर उचाइमा रहेको छ ।

केवलकारको माथिल्लो स्टेसनमा भ्यु टावर, गार्डेन, पार्किङ संरचना, रेस्टुरेन्ट, कफी सप, जिप लाइन, स्काइ साइक्लिङ र स्वीङ संचालनमा छन् । गत वर्ष चैत १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको केबलकार पर्यटकहरुका लागि पोखरामा नयाँ अनुभवसँगै थप एक दिनको गन्तव्य बनेको छ ।