जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

संसदमा अर्थमन्त्रीको स्पष्टीकरण : बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको कुरा झूटो हो

अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने कुरा अत्यन्तै भ्रामक, झूटा र कपोकल्पित भएको भन्दै त्यसको खण्डन गरेका छन्।

बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराइएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले राजीनामा माग गरिरहेको बेला अर्थमन्त्री शर्माले यस्तो स्पष्टीकरण दिएका हुन्।

उनले मंगलबार प्रतिनिधिसभा बैठकमा समय माग गरेर बोल्दै बजेट निर्माणका लागि अर्थ मन्त्रालयमा अर्थ सचिव र राजस्व सचिवको नेतृत्वमा टिम परिचालन हुने र उनीहरुले तयार गरेको बजेटमा अर्थमन्त्रीको हैसियतमा आफूले सरकारको नीति तथा भिजन मात्रै दिने अधिकार भएको र सोही अनुसार काम गरिएको बताए।

अर्थमन्त्री शर्माले कार्य सम्पादन नियमावलीले आफूलाई बजेट निर्माण गर्नका लागि अधिकार दिएको र सोही अधिकार मात्रै आफूले प्रयोग गरेको पनि पटकपटक दोहो¥याए।

सरोकारवालाहरुको सुझाव, सम्बन्धित मन्त्रालयले पठाएको कार्यक्रम र योजनाहरुकै आधारमा अर्थ मन्त्रालयको पदाधिकारीले बजेट बनाउने विधि र प्रक्रिया रही आएको अर्थमन्त्री शर्माको भनाइ थियो।

उनले भने, ‘बजेट तर्जुमा सम्बन्धी विषयलाई लिएर केही मिडियाहरुमा आएको समाचारको बारेमा माननीय ज्यूहरुले उठाउनुभएको प्रश्नको बारेमा म स्पष्ट गर्न उभिएको छु । नेपाल सरकार कार्यसम्पादन नियमावली, २०७४ अनुसार तोकिएको जिम्मेवारी भित्र रहेर कार्य सम्पादन हुने कुरा म स्पष्ट गर्न चाहन्छु।’

बजेट तथा आर्थिक विधेयक तर्जुका सम्बन्धमा स्पष्ट रुपमा परिभाषित गरिएका प्रक्रियाहरु रहेको र ती प्रक्रियाहरुअन्तर्गत रहेर मुख्यतः अर्थसचिव र राजस्व सचिव दुई वटा सचिव रहने व्यवस्था रहेको उनले स्पष्ट पारे।

उनले भने, ‘उहाँहरुको मातहतमा रहनुभएका अन्य विभागीय प्रमुखहरु र कर्मचारीहरुको तहमा विभिन्न स्तरमा छलफल भएर र विभिन्न सरोकारवालाहरुबाट आएका सुझावहरुलाई समेत ध्यान दिएर प्रस्तावहरु बन्ने गर्दछ। यो कुरा म यहाँ जानकारी गराउन चाहन्छु । र, त्यसलाई आवश्यक तयारी गरेर निष्कर्षमा ल्याउने र अर्थमन्त्रीेले सरकारको नीति र भिजनलाई नीतिगत रुपमा निर्देशन दिने त्यस आधारमा बजेट तयार हुने परम्परा रहेको र अहिले पनि त्यसरी नै बजेट तयार भएको म स्पष्ट गर्न चाहन्छु।’

अब छलफल हुँदा प्राप्त भएका सुझावहरुलाई बढिभन्दा बढि समेटने कुरामा ध्यान दिने र सम्बन्धित मन्त्रालयहरुले तय गरेर पठाएका कार्यक्रम र योजनाहरु अर्थ मन्त्रालयका बजेटसँग सम्बन्धित पदाधिकारीहरुबीचको दुई पक्षीय छलफलको आधारमा त्यसलाई टुंग्याउने परम्परा रहेको अर्थमन्त्रीको भनाइ छ।

‘सोही अनुसार नै अहिलेको बजेट पनि बनेको कुरा म स्पष्ट गर्न चाहन्छु । अव यहाँ अहिले एउटा जुन विषय उठेको छ कि बजेट निर्माण गर्दा राजस्वको दरहरु गर्न कुनै मान्छे रातको १२ बजे आएर चलखेल ग¥यो भन्ने सन्दर्भमा जुन विषय उठेको छ । त्यो अत्यन्त भ्रामक, कपोकल्पित एउटा झुटा कथा बनाइएको छ । यसको म खण्डन गर्न चाहन्छु । खारेज गर्न चाहन्छु’, उनले बाहिर आएका कुराहरुबारे भने।

‘र, मन्त्रालयका जिम्मेवार पदाधिकारीहरु भन्नाले सचिवज्यूहरुको नेतृत्वमा राजस्व सचिवको नेतृत्वमा राजस्व सम्बन्धि तयारी र अर्थ सचिवको नेतृत्वमा अर्थ सम्बन्धि तयारी दुवै तयारी पनि हुने गरी कार्य विभाजन हुने, कमिटीहरु बन्ने र ती कमिटीहरुले नै यी कुराहरुलाई प्रक्रियागत रुपमा टुंग्याउने भएको हुनाले यी कुराहरु त्यसरी सम्पन्न भएको म स्पष्ट गर्न चाहन्छु’, उनले थपे, ‘सबै कामहरु आधिकारिक ढंगले भएको र अर्थमन्त्रीको हैसियतले जुन कार्य सम्पादन नियमावली अनुसार प्राप्त भएको जिम्मेवारी प्रति उत्तरदायी भएर बजेट बनाइएको कुरा यहाँ स्पष्ट गर्न चाहन्छु । कुनै पनि अनाधिकार व्यक्तिले बजेट बनायो भन्ने कुरा झुटा र भ्रामक भएको कुरा स्पष्ट पार्न चाहन्छु ।’

अर्थमन्त्री शर्माले राजस्व परिचालनबारे राजस्व सचिव र अर्थ परिचालनसम्बन्धी अर्थ सचिवले आवश्यक तयारी गर्ने हुनाले त्यसमा अर्थमन्त्रीले खेल्न मिल्ने कुनै अधिकार नभएको पनि बताए।